काठमाण्डौ । इजरायलमा हमासको आक्रमणपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ। 

सोमबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य करिब पाँच प्रतिशतले बढेको छ। मध्याह्न साढे १२ बजे ब्रेन्ट क्रुडको भाउ ३.१२ प्रतिशत अर्थात् २.६४ डलरले बढेर प्रतिब्यारेल ८७.२२ डलरमा कारोबार भइरहेको थियो। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि प्रतिब्यारेल ८५.६९ डलरमा कारोबार भइरहेको छ। 

पश्चिम एसियामा बढ्दो भूराजनीतिक जोखिमका कारण तेलको मूल्य बढेको विज्ञहरु बताउँछन्। भविष्यमा थप उतारचढाव आउन सक्ने उनीहरुको भनाइ छ। 

अघिल्लो साता कच्चा तेलको मूल्य घटेको थियो। जुन गत मार्चपछिको सबैभन्दा ठूलो साप्ताहिक गिरावट थियो। 

गत साता ब्रेन्ट ११ प्रतिशत र डब्ल्यूटीआई ८ प्रतिशतले घटेको थियो। उच्च ब्याजदर र विश्वव्यापी मागमा यसको प्रभावका कारण कच्चा तेलको मूल्यमा गिरावट आएको हो। 

इजरालमाथि हमासले आक्रमण गरेपछि तेलको भाउमा उछाल आएको छ। हमासले शनिबारदेखि इजरायली सहरहरुमा आक्रमण गरिरहेको छ। सयौँको ज्यान गइसकेको छ। 

जबाफी कारबाहीस्वरुप इजरायलले पनि गाजामा आक्रमण गरेको छ। यो युद्धले इरान र साउदी अरबलाई पनि असर गर्न सक्छ। जसका कारण तेलको भाउ अझै बढ्न सक्ने विज्ञहरु बताउँछन्। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेमा भारतमा पेट्रोल, डिजेललगायतका इन्धनको मूल्य बढ्न सक्ने देखिन्छ। यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्नेछ। जसका कारण पेट्रोल र डिजेलको भाउ बढ्न सक्ने जानकारहरु बताउँछन्। –एजेन्सी