काठमाण्डौ । इजरायल र हमासबीच जारी युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको थियो। कच्चा तेलको दाम प्रतिब्यारेल ९३ डलरको नजिक पुगेको थियो। इजरायल र हमासबीच युद्ध अझै जारी छ। तैपनि कच्चा तेलको मूल्यमा अचानक गिरावट आएको छ। यसले धेरै देशलाई राहत दिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको भाउ ५ प्रतिशतसम्म घटेको थियो। योसँगै ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७९.८० डलरको स्तरमा झरेको छ। 

अर्कोतर्फ डब्ल्यूटीआईको मूल्य पनि घटेर प्रतिब्यारेल ७५.६२ डलरमा आएको छ। कच्चा तेलको मूल्यमा आएको यो गिरावटपछि मूल्य ३ महिनायताकै न्यून विन्दुमा पुगेको छ। माग घट्नुको कारण मूल्य घटेको बताइएको छ।

इजरायल–हमास युद्धका कारण बिग्रिएको भूराजनीतिक अवस्थाका बाबजुद अमेरिकादेखि मध्यपूर्वसम्म कच्चा तेलको मूल्यमा आएको गिरावटको पछाडिको कारणबारे कुरा गर्ने हो भने कच्चा तेलको आपूर्तिमा भएको वृद्धि त्यसमध्येको एक हो। अमेरिका र ओपेकले मागभन्दा आपूर्ति बढाएका छन्। यसबाहेक डलर इन्डेक्समा भएको वृद्धिका कारण कच्चा तेलको भाउमा दबाब बढेको देखिन्छ। –एजेन्सी