काठमाण्डौ । एनआइसी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि विस्तारित  काउण्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित काउण्टर यही भाद्र १ गतेबाट सञ्चालनमा ल्याइएको छ । 

बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको समुद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गरे । 

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे, नेपाल सरकार भन्सार विभागका निर्देशक शिशिर घिमिरे, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भिमप्रसाद अधिकारी, कैलाली भन्सार कार्यालय प्रमुख ईश्वरी अर्याल र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ल लगायतको सहभागिता थियो । 

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको र भविष्यमा यस्ता सुविधाहरु अझै थप गर्दै लैजाने विश्वास लिएको छ ।

समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वैद्यले उक्त विस्तारित काउण्टर सञ्चालनले नेपाल–भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयातनिर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकबाट छिटोछरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्नसक्ने विश्वास लिएको जानकारी गराए । 

हाल यो बैंकको देशभर २९५ शाखा कार्यालयहरु, ३३८ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकका हाल १७ लाख बढी ग्राहक रहेका छन्।