काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडद्वारा बैंक खाताबाट गरिने कारोबारहरुलाई प्रोत्साहन गर्ने नेपाल सरकार लगायत नेपाल राष्ट्र बैंकको नीति तथा बैंक खाताबाट अनलाईन गरिने कारोबारलाई समेत पूर्ण रुपमा लागू गर्न यसअघि परीक्षणको रुपमा सुरु गरिएको अनलाईन राजश्व भुक्तानी र अनलाईन फण्ड ट्रान्सफरमा प्रयोग हुँदै आएको कनेक्ट आइपीएस इपेमेन्टलाई सिंगल प्लेटफर्मको रुपमा स्थापितगर्न विभिन्न विशेषतासहित उक्त प्रणालीको वेब तथा मोवाइल एप एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले वेब तथा मोवाइल एपको औपचारिक शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल राष्ट्र बैैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल, राजश्व सचिव, डेप्यूटी गभर्नर, महालेखानियन्त्रक, बैंक वित्तीय संस्थाका प्रमूख लगायत अन्य उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले डब्ल्यु डब्ल्यु डट कनेक्टआइपीएस डट कम अथवा मोवाइल एपबाट आफूलाई एकपटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई सिधै आफ्नो बैंक खातामार्फत कारोबारहरु गर्न सक्ने व्यवस्था रहेको छ । 

सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हँदा कारोबार सहज हुने दाबी गरिएको छ । यस प्रणाली मार्फत नेपाल सरकारको राजश्व भुक्तानी रकम ट्रान्सफर लगायतअन्य सेवाहरु पनि समावेश गरिएको छ । 

क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर, ब्रोकरको भुक्तानीलगायतका अन्य भुक्तानीहरु पनि सजिलै गर्न सकिनेछ भने अनलाईनमार्फत प्रति कारोबार रु. १ लाखसम्मको भुक्तानी गर्न सकिने छ। मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी गर्न सकिने कार्यक्रममा जानकारी गराइएको छ । 

यो प्रणालीमा हालसम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेकामा हालसम्म ३२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ । कम्पनीले यस प्रणालीमा अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई पनि आवद्ध गराउँदै लैजाने योजना रहेको बताएको छ । 

यो प्रणालीलाई सिंगल पेमेन्ट प्लेटफर्मको रुपमा स्थापित गर्न बैंक वित्तीय संस्थालगायत अन्य भुक्तानी सेवाप्रदायकहरुलाई पनि आवद्ध गरेको छ । 

यस प्रणालीको पूर्ण सञ्चालनपश्चात नेपाल सरकारलाई बुझाउने कर, शुल्कवा दस्तुर लगायत अनलाईन रकम ट्रान्सफर तथा ई–कमर्श मार्फत सेवा तथा वस्तुहरुको भुक्तानीहरु बैंक खाताबाट सोझै गर्न सकिने हुन्छ भने नेपालको राष्ट्रिय भुक्तानी प्रणाली पूर्वाधारलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन समेत सहयोग गर्ने विश्वास कम्पनीले लिएको छ ।