काठमाण्डौ । नेपाल राष्ट्रबैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीमा मंगलबारदेखि कारोबार शुरु गर्ने गरी नबील बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । 

बैंकका ग्राहकहरुले यस प्रणालीको वेबसाइट अथवा मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्नसक्ने व्यवस्था रहेका छन् । 

हाल यसप्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी,लोकसेवा आयोगकोभुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् । 

यो प्रणालीमा उपलब्ध पेमेन्ट प्रोसेसर(गेटवे) जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन्  । अनलाईन कारोबार रु. १ लाखसम्म र  मोबाईल एप्समार्फत प्रति कारोबार रु. ५ हजारसम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् ।

हाल यो प्रणालीमा हालसम्म ५१ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरिसकेकामा हालसम्म ४० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।