काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा करिब २९ प्रतिशतले बढाए पनि प्रति सेयर आम्दानी(इपीएस)मा भने ठूलो गिरावट आएको छ । 

चुक्तापूँजीमा निकै ठूलो अन्तरको वृद्धि गर्नुपर्ने बाध्यता र पछिल्लो समय यो बैंकप्रति सर्वसाधारणको खस्कँदो विश्वासले समेत प्रति सेयर आम्दानी घटाउन सहयोग गरेको देखिएको छ। 

यो बैंकले बुधबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमासमा ७५ करोड ३७ लाख खूद नाफा रहेकोमा यो वर्ष वृद्धि भई ९७ करोड १५ लाख पुुगेको हो । केही वर्षअघिसम्म टप वाणिज्य बैंकको रुपमा रहने गरेको एभरेष्ट बैंक पछिल्लो समय अन्य बैंकको तुलनामा खुम्चदै गएको छ । यही कारण समेत धेरै वाणिज्य बैंकले दोश्रो त्रैमासमा खूद नाफा १ अर्ब कटाउँदा समेत उसको त्यो भन्दा कम कायम भएको हो । 

एभरेष्ट बैंकले खूद ब्याज आम्दानीतर्फ राम्रै प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ४४ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब ७६ करोडको उचाईमा पुुगेको छ । 

एभरेष्ट बैंकको कमजोर व्यवस्थापनकै कारण निस्क्रिय कर्जा अनुपात(एनपिएल) समेत बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ०.६७ प्रतिशत रहेको निस्क्रिय कर्जा यो वर्षको सोही अवधिमा बढेर ०.७० प्रतिशत कायम भएको छ । 

एभरेष्ट बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी ४२ रुपैयाँ ९३ पैसा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा प्रति सेयर आम्दानी ५७ रुपैयाँ ४८ पैसाको उचाईमा थियो । प्रति सेयर नेटवर्थ २०७ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ४४.८४ गुणा कायम भएको छ । यो बैंकको मूल्य आम्दानी अनुपात समेत खराब कायम हुन गएको छ । यति धेरै यस्तो अनुपात हुनु भनेको सो संस्था लगानीका लागि उपयुक्त नरहेको भनेर बुुझ्ने गरिन्छ । मूल्य आम्दानी अनुपात जति कम भयो, त्यो संस्थामा लगानीकर्ताले उति सुविधाजनक र निसन्देह लगानी गर्न सक्ने विज्ञ बताउँछन् । 

दोश्रो त्रैमाससम्म एभरेष्ट बैंकको चुक्तापूँजी ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ८७ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट यो बैंकले लगानीकर्तालाई ७० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यसको साथै ३३.३३ प्रतिशत हकप्रद समेत दिने प्रस्ताव गरेको थियो । हकप्रद वितरणपछि एभरेष्ट बैंकको चुक्तापूँजी ६ अर्ब १४ करोड पुुग्नेछ ।