नयाँदिल्ली । हिजोआज आमजिन्दगीमा पैसाको निकै महत्व छ । त्यसैले तपाइँ निकै समझदारीका साथ अगाडि बढ्न जरुरी छ । जानकार भन्छन्– नियोजित र अनुशासित भएर खर्च गर्नाले तपाइँले कमाइको बचत गर्न सक्नुहुन्छ र आवश्यकता तथा जिम्मेवारी पनि समयमा पूरा गर्न सक्नुहुन्छ । 
वास्तवमा हामी धेरै मामलामा लापरबाही हुन्छौँ । तर यति कुरा याद राख्नुपर्छ कि आरामदायी र सुखी जीवनका लागि निजी अर्थव्यवस्थाको सही योजना बनाउनु अनिवार्य हुन्छ । यसका लागि तपाइँको आर्थिक मामिलामा केही ठोस निर्णय लिन जरुरी हुन्छ, जसले तपाइँलाई तपाइँको लक्ष्यको सम्मुख लैजानेछ । यसका लागि तल उल्लेखित कुराहरुमा विचार पुर्याउनुहोस् :

१. आर्थिक मामिलामा पुनर्विचार गर्नुहोस् र निजी लक्ष्य तय गर्नुहोस् : तपाइँ आफ्नो आम्दानी र जिम्मेवारीको लेखाजोखा गर्नुहोस् । आर्थिक मामिलाको समीक्षा गर्नुहोस् । यो जान्ने कोसिस गर्नुहोस् कि पैसाले कसरी काम गर्छ । उदाहरणका लागि– अनावश्यक किनमेल कम गर्नुहोस् । यसले तपाइँको बचत वृद्धि गर्छ । त्यस्तै तपाइँले यो पनि सोच्नु जरुरी हुन्छ कि बचत तपाइँ केका लागि गर्दै हुनुहुन्छ– राम्रो शिक्षा, नयाँ घर, कार, घुमफिर गर्ने सपना पूरा गर्न, आदि इत्यादि । यो पनि विचार गर्नुपर्छ कि कति समयसम्म बचत गर्दा यी सपना पूरा हुन्छन् । 

२. बजेट बनाएर कार्यान्वयन गर्नुहोस् : आम जिन्दगीमा बजेट बनाएर चल्नु समझदारी हुन्छ । कतिपय अवस्थामा तपाइँले आफ्नो आम्दानीको हिसाबले बजेट त तयार गर्नुहुन्छ तर त्योअनुरुप चल्न चुक्नुहुन्छ । यदि तपाइँ आफ्नो बजेटअनुसार चल्नुभयो भने तपाइँको आवश्यक खर्चमात्रै होइन तपाइँको आर्थिक लक्ष्य पनि पूरा हुन्छ । ध्यान राख्नुहोस्, यदि आफ्नो बजेटभन्दा ठूलो कुनै चिजको इच्छा पूरा गर्न तपाइँ तम्तयार हुनुहुन्छ भने तपाइँलाई ऋण पनि लाग्न सक्छ र अन्य आवश्यकता पूर्ति गर्ने बाटो पनि अवरुद्ध हुन सक्छ । 

३. परिवारको सल्लाह–सुझावपछि मात्र निर्णय लिनुहोस् : परिवारमा श्रीमती र आफ्ना छोराछोरीलाई पनि बचतका लाभहरुका बारेमा बताउनुहोस् । उनीहरुलाई फजुल खर्च गर्ने क्रियाकलापबाट बच्न सुझाउनुहोस् । उनीहरुलाई सही आर्थिक मामिलाका बारेमा जानकारी गराएमा तपाइँ आफ्नो परिवारको आर्थिक लक्ष्य सजिलै पूरा गर्न सक्नुहुनेछ । घरको बजेट आपसमा मिलेर बनाउनुहोस् ता कि सबैजना बचत र खर्चको भागिदार बनून् र जिम्मेवारी पनि समान रुपमा वितरण होस् । 

४. स्वास्थ्यका नाममा बचतको सुरुआत गर्नुहोस् : राम्रो स्वास्थ्यका लागि ‘स्वास्थ्य योजना’ बनाउन तत्परता देखाउनुहोस् । सम्पूर्ण स्वास्थ्य बीमा बनाउनु निकै उचित हुन्छ । किनकि तपाइँहरुलाई थाहा नै छ, अहिलेको जमानामा स्वास्थ्योपचार महँगो भइरहेको छ । स्वास्थ्य बीमाले खासगरी तपाइँ र तपाइँको परिवारको आकस्मिक उपचारमा मद्दत गर्नुका साथै उपचारमा लाग्ने भारी खर्चबाट उत्पन्न हुने आर्थिक संकटबाट बचाउँछ । त्यसैले स्वास्थ्य बीमा पनि एक शानदार बचत हो । 

५. छोराछोरीको भविष्यको योजना बनाउनुहोस् : सबै आमा–बाबुलाई आफ्ना छोराछोरीको पढाइ पहिलो प्राथमिकता नै हुन्छ । यद्यपि यसका लागि अधिकांश अभिभावकमा सही योजनाको अभाव देखिन्छ । त्यसैले छोराछोरीलाई राम्रो शिक्षा दिलाउने क्रममा उनीहरु ऋणमा डुब्छन् । त्यसैले आफ्नो आम्दानीको केही हिस्सा छोराछोरीको भविष्यका लागि पहिलेदेखि नै जम्मा गर्ने बानी बसाल्नुहोस् । 

६. आफ्नो परिवारको भविष्य सुरक्षित गरौँ : जीवन बीमा तपाइँको आर्थिक योजनाको सबैभन्दा महत्वपूर्ण निर्णय हो । त्यसैले यो कुरा याद राख्नुहोस् कि धेरै रकमको जीवन बीमा योजनाले तपाइँको परिवारको आर्थिक भविष्य सुरक्षित हुन्छ भन्ने भन्दा पनि परिवारको गुजारा चलाउने तपाइँ स्वयं यदि कुनै भवितव्यमा रहनुभएन भने त्यसपछि पनि परिवारको गुजारा सही तरिकाले चल्ने किसिमको जीवन बीमाको स्किम लिनुपर्छ । बजारमा धेरै प्रकारका जीवन बीमा योजना हुन्छन्, सही सल्लाह–सुझावका साथ उचित बीमा पोलिसी रोज्नु नै बुद्धिमता हुनेछ ।