काठमाण्डौ । मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सिर्जना फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष ८ करोड ५५ लाख कमाएको यो फाइनान्सले समीक्षा अवधिको अन्तसम्म १३ करोड ५० लाख खूद नाफा आर्जन गरेको हो । 

व्यवसाय बिस्तारमा व्यवस्थापनले ध्यान केन्द्रीत गरेका कारण खूद ब्याज आम्दानी करिब दोब्बरले बढेको छ । अघिल्लो वर्षसम्म १५ करोड ३२ लाख रहेको यस्तो आम्दानी बढेर २९ करोड ४५ लाखको उचाईमा पुुगेको हो । 

यस्तै, १३ करोड ३९ लाखमा सीमित संचालन नाफा बढेर २१ करोड २१ लख पुुगेको छ । 

कर्मचारी खर्च तथा अन्य संचालन खर्चमा निकै ठूलो वृद्धि भए पनि यो कम्पनीले नाफामा छलाङ मार्ने सफलता पाएको देखिएको छ । 

यो अवधिमा सिर्जना फाइनान्सले ३ अर्ब ३६ करोड निक्षेप संकलन गरी २ अर्ब ७२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो अवधिमा २ अर्ब १६ करोड निक्षेप संकलन गरी १ अर्ब ८८ करोड कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीले जगेडाकोषमा समेत कमालको प्रगति गरेको छ । अघिल्लो वर्षसम्म ५ करोड ७ लाख रहेको कोषमा समीक्षा अवधिको अन्तसम्म १८ करोड ५७ लाख सञ्चित भएको छ । 

हाल यो कम्पनीको चुक्तापूँजी ३० करोड २४ लाख रहेको छ । 

यो अवधिमा निस्क्रिय कर्जाको अनुपात भने बढेको छ । अघिल्लो वर्ष ०.३५ प्रतिशतको अनुपातमा रहेको यस्तो कर्जा बढेर ०.६६ प्रतिशतको उचाईमा पुुगेको हो । 

समीक्षा अवधिमा सिर्जना फाइनान्सको प्रतिसेयर आम्दानी ४४.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.७४ गुणा कायम भएको छ ।