– मनिष सोती

काठमाण्डौ । बाबुराम अधिकारी पछिल्लो डेढ दशकदेखि बीमा अभिकर्ताका रुपमा सक्रिय छन्। झापा भद्रपुर–८ का अधिकारीले बीमा अभिकर्ता पेसाबाट राम्रै प्रगति पनि गरेका छन्। 

विगत साढे २ वर्षदेखि अधिकारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ता रुपमा क्रियाशील छन्। यो कम्पनीमा लागेको कम समयमै उनी नेपालभरबाट टप एजेन्सी म्यानेजर बन्न सफल भएका छन्। 

कम्पनीले हालै देशभरिका उत्कृष्ट १०० जना अभिकर्तालाई विभिन्न विधामा सम्मान गरेको थियो। जसमा भद्रपुर शाखाका एमडीआरटी तथा सिनियर एजेन्सी म्यानेजर अधिकारी नेपालभरबाट टप एजेन्सी म्यानेजर बन्न सफल भए। कार्यक्रममा गत आर्थिक वर्ष २०७९–८० मा एजेन्सीतर्फ साथै व्यक्तिगत अभिकर्ता कोडमा समेत नेपालभरिबाट अधिकारीले प्रथम स्थान हासिल गरेका हुन्। 

रिलायबल नेपाल लाइफमा जोडिएको छोटो समयमै प्रथम स्थान हासिल गर्न सफल भएकोमा अधिकारी खुसी छन्। ‘अभिकर्तामा लगनशील र इमानदारी कायम राख्दै मेहनत गर्न सक्ने तत्परता छ भने अवश्य सफलता मिल्छ’, अधिकारी भन्छन्।

अधिकारी यसअघि एसियन लाइफ, साबिक प्राइम लाइफ र सन नेपाल लाइफमा समेत काम गरिसकेका छन्। ‘एसियन लाइफ इन्स्योरेन्समा पनि टप लेभलको बिजनेस गरी अवार्ड प्राप्त गरिसकेको छु’, उनले भने। 

आफ्नो बीमा यात्रामा प्रत्येक वर्ष बिजनेसमा ग्रोथ गरेको अधिकारी बताउँछन्। ‘प्रत्येक आर्थिक वर्षमा मैले प्रिमियम कलेक्सनमा इन्क्रिज गरेको छु, आगामी वर्षहरुमा योभन्दा बढी बिजनेस गर्न मलाई चुनौती थपिएको छ’, अधिकारी भन्छन्, ‘रिलायबल नेपाल लाइफमा आबद्ध भएको छोटो समयमै मलाई बीमितहरुले विश्वास गर्नुभएको छ, आगामी वर्षमा पनि योभन्दा धेरै बिजनेस भित्र्याउने होप छ।’ 

बीमा अभिकर्ता पेसाप्रति अधिकारी सन्तुष्ट छन्। ‘बीमा अभिकर्ता पेसाबाहेक मेरा लागि अब अरु विकल्प छैन, डेढ दशकभन्दा बढी बीमा क्षेत्रमै बिताइसकेँ, मासिक ५ लाखभन्दा बढी कमाइ छ, सन्तुष्टि छु’, उनले भने, ‘बीमा अभिकर्ता पेसाबाट राज्यलाई समेत राजश्व संकलनमा सहयोग पुगेको छ, अभिकर्ताले वार्षिक लाखौँसम्म ट्याक्स तिर्ने गरेका छन्।’ 

गत आर्थिक वर्ष २०७९–८०मा राज्यलाई लाखौँ रुपैयाँ कर तिरेको अधिकारी बताउँछन्। ‘आर्थिक संकटका बाबजुद पनि गत आर्थिक वर्षमा उत्कृष्ट बिजनेस भित्र्याउन सफल भएँ’, उनले भने, ‘गत वर्ष इकोनोमिक क्राइसिसले गर्दा बीमा क्षेत्रका लागि ठूलो चूनौती थियो, प्रिमियम कलेक्सनमा समस्या थियो तर मैले आफ्नो लगनशील कायम राख्दै मेहनत गरेँ, जसको फल आज मिलेको छ।’

बीमा क्षेत्रमा प्रोफेसनल अभिकर्ता भएर काम गर्नेलाई सहजका साथै आर्थिक पाटोसमेत बलियो हुने अधिकारीको तर्क छ। ‘बीमितहरुलाई पहिलाको जस्तो कन्भिन्स गर्न कठिनाइ छैन, ५० प्रतिशतभन्दा बढी जनसंख्याले बीमाको महत्व बुझिसकेका छन्’, उनी भन्छन्, ‘बीमा गराउन उत्प्रेरित गर्नमा अभिकर्ताको ठूलो हात हुने भएकोले कम्पनीहरुले पनि अभिकर्तालाई प्रोत्साहन गर्नु आवश्यक छ।’ 

बीमा अभिकर्ता पेसाबाटै आर्थिक पाटो बलियो हुनुका साथै आफ्नो क्षमतामा समेत ग्रोथ भएको अधिकारी बताउँछन्। ‘यो पेसाले मलाई धरै कुरा दिएको छ, तलबी रुपमा जागिर खानुभन्दा यसै पेसालाई निन्तरता दिनु उत्तम ठानेको छु’, उनी भन्छन्, ‘व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, आर्थिक विकास तथा सामाजिक प्रतिष्ठा सबै कुरा यही पेसाले नै दिएको छ, बरु म अन्यलाई समेत यो पेसा अँगाल्न प्रेरित गर्छु।’ 

अभिकर्ताले बीमितले तिरेको रकमबाट कमिसन खाने होइन 

बीमा अभिकर्ताको पेसालाई अहिलेको समाजमा कमिसन खाने पेसा भन्ने गरेको कुराको अधिकारी खण्डन गर्छन्। बीमितले बुझाएको बीमांक रकमबाट अभिकर्ताले सीधै कमिसन खाने कुरा गलत रहेको उनको तर्क छ। 

‘बीमा ऐनबमोजिम अभिकर्ताहरुले प्रिमियम कलेक्सनको आधारमा कम्पनीबाट पाउने रकम हो, यसलाई बीमितको पैसाको कमिसन भन्न मिल्दैन’, उनले भने, ‘अभिकर्ताले नयाँ बिजनेस भित्र्याएको खण्डमा कम्पनीबाट पहिलो वर्ष र बाँकीका वर्षहरुमा छुट्टाछुट्टै रकम प्राप्त हुन्छ, यसलाई बीमितकै पैसाको कमिसन भन्न नमिल्ला। ‘बीमितहरुले बुझाएको प्रिमियम कम्पनीमा सुरक्षित हुन्छ, म्याचुरिटीपश्चात् बीमितलाई बोनस प्लस भएर आउँछ।’ 

यसका साथै पछिल्लो समय बीमा कम्पनीहरु धेरै भएका कारण पनि यस्ता खालका विकृतिहरु बढ्दै गएको अधिकारीको भनाइ छ। केही समयअघि बन्द भएको बैंकास्योरेन्स व्यवस्थाले अभिकर्ता पेसामाथि विभिन्न आरोपहरु आएको उनी दाबी गर्छन्। ‘बैंकास्योरेन्स व्यवस्था बन्द भएपछि कतिपय पोलिसीहरु ल्याप्स भएका छन्, यसले गर्दा बीमितहरुको ठूलो रकम हराएको छ’, उनी भन्छन्, ‘बीमितहरुले आफ्नो रकम ल्याप्स हुँदा त्यसैको फ्रस्टेसन अहिले बीमा अभिकर्ताहरुमाथि निकालिरहेका छन्।’ 

राज्यका लागि बीमा मेरुदण्ड हो 

गत आर्थिक वर्षमा अधिकारीले लाखौँ रुपैयाँ सरकारलाई कर भुक्तानी गरेका छन्। बीमा अभिकर्ताहरुले वार्षिक रुपमा लाखौँ कर तिर्ने गरेको उनी बताउँछन्। ‘अभिकर्ताले आम्दानी गरेअनुसार कर तिरेको हुन्छ, प्रत्येक अभिकर्ताको कमाइबाट कम्पनीले १५ प्रतिशत टीडीएस काटेको हुन्छ’, उनी भन्छन्, ‘यसबाट सरकारलाई राजश्व संकलनमा ठूलो राहत मिलेको छ।’

अभिकर्ताले तिुर्नपरेको टिडिएस प्रणाली भने उचित नभएको उनी बताउँछन्। ‘१ लाखदेखि ५–७ लाखसम्म आम्दानी गर्ने सबैमा एउटै प्रणाली लागू छ, यसबाट थोरै आम्दानी गर्ने अभिकर्तालाई मर्का पर्न सक्छ’, उनी भन्छन्, ‘४ लाखभन्दा थोरै आम्दानी गर्नेलाई १ प्रतिशतमात्रै टीडीएल लागू गर्नुपर्छ।’

टीडीएसबाहेक आम्दानी अनुसार समेत कर तिर्नुपरेको अधिकारी बताउँछन्। ‘राज्यले आम्दानीका आधारमा कर तिर्न लगाएको हुन्छ तर हाम्रो कमाइबाट टीडीएस काटिएर आइसकेको हुन्छ’, उनले भने, ‘अभिकर्ताहरु दोहोरो रुपमा करको सिकार हुनुपर्ने अवस्था छ, एकपटक कर काटिसकेपछि फेरि कर तिर्नुपर्ने प्रणाली हटाएमा उचित हुनेछ।’ 

प्रत्येक घर–घरमा बीमाको आवश्यक छ 

रिलाबयल नेपाल लाइफमा आबद्ध भएको छोटो समयमा पनि बीमितहरुको मन जित्न सफल अधिकारीले प्रत्येक घर–घरमा बीमाको आवश्यक रहेको कुरामा दाबी गर्छन्। ‘अभिकर्ताले अब प्रत्येक घर–घरमा गई बीमितको अवस्था बुझेर बीमा गराउन उत्प्रेरित गर्न आवश्यक छ’, उनी भन्छन्, ‘बीमितहरुको स्वास्थ्य तथा आर्थिक अवस्था बुझेर बीमा गर्न प्रोत्साहन गनुपर्दछ, ता कि बीमितले बीमाको महत्व बुझेर सहजै बीमा गर्न सकोस्।’ 

सबैले अनिवार्य रुपमा बीमा गर्नुपर्नेमा अधिकारी जोड दिन्छन्। ‘हामीले आफ्नो मोबाइल सुरक्षाका लागि कभर, टेम्पर ग्लासजस्ता कुराहरु प्रयोग गरेका हुन्छौँ, स–साना कुरामा नडराई खर्च गरिरहेका हुन्छौँ तर बीमा गर्न हिच्किचाइरहेका हुन्छौँ’, उनले भने, ‘हामी त मान्छे हौँ आफ्नो लाइफ सेक्युअर गर्न अनिवार्य बीमा गर्नैपर्छ।’ 

बीमा गर्दा बचत, सुरक्षा तथा रिस्क कभर हुने भएको हुँदा बीमा गर्दा बीमितलाई फाइदा हुने उनको धारणा छ। यसका साथै भविष्यमा हुन सक्ने जोखिम बहन र आर्थिक पाटोमा समेत सपोर्ट मिल्ने बताउँदै अधिकारी सबैलाई बीमा गर्नसमेत आग्रह गर्छन्।