काठमाण्डौ । सामान्यतः हामी पढाइ पूरा गर्नुअघिसम्म अभिभावककै खटनपटनमा चलिरहेका हुन्छौँ । आफूलाई कुनै चिज चाहिएमा अभिभावकसँगै पैसा माग्छौँ । 

जब हामी पढाइ पूरा गरेर करिअरको सुरुआत गर्छौं तब आर्थिक व्यवस्थापनबारेमा हामी शून्यजस्तै हुन्छौँ । तलबबापत आउने पैसाले हामी आफूलाई आवश्यक सामान खरिद गर्न र घुमफिरमै खर्च गर्न थाल्छौँ । तर जब हामी व्यहारिक हुन थाल्छौँ तबमात्र खर्च व्यवस्थानसँगै बचत गर्नेतर्फ ध्यान दिन थाल्छौँ । 

वास्तवमा भन्ने हो भने यो प्रक्रिया निकै गलत छ । किनकि जब हामी करिअरको सुरुआत गर्छौं, त्यतिबेलादेखि नै बचत गर्ने बानी बसाल्न जरुरी छ । किनकि जति हामी बचत गर्छौं र त्यो पैसालाई राम्रो आम्दानी हुने ठाउँमा लगाउँछौँ तबमात्र जागिरे जीवनपछिको अवस्था सहज र आरामदायी हुनेछ । 

त्यसैले जागिरेपछि सुखद् जीवनका लागि करिअरको सुरुआतमै बचत गर्ने तरिकाबारे केही टिप्स जानौँ–

आफ्नो खर्चमा ध्यान दिनुहोस् 

बचत गर्नुअघि तपाइँले आफ्नो आम्दानीबाट प्राप्त पैसा कहाँ र कसरी खर्च गरिरहनुभएको बिचार गर्नुहोस् । सामान्यः तपाइँले घरभाडा, धाराबत्ती र टेलिफोनको भुक्तानी आदिबारे हिसाब निकाल्नुहुन्छ तर तीबाहेक पनि तपाइँले कताकता खर्च गरिरहनुभएको छ, त्यसलाई ध्यान दिन जरुरी छ । त्यसका लागि तपाइँले एउटा डायरीमा २–४ महिनासम्म हिसाबकिताब राख्नुहोस् । अनि पछिको भविष्य राम्रो बनाउनुछ भने जागिरको सुरुआतदेखि नै अत्यावश्यकबाहेक फजुल खर्च घटाएर बचत गर्ने बानी बसालौँ । 

भावी लक्ष्यका लागि बचत गर्नुहोस्, उधारो नलिनुहोस्

तपाइँलाई छुट्टीमा कतै घुम्न जान मन लाग्छ वा कुनै ग्याजेट किन्न मन लाग्छ । त्यस्तो अवस्थामा युवाहरु आफ्नो कमाइले नपुगे पनि कसैसँग सापटी माग्ने वा बैंकबाट लोन लिने तथा ती ग्याजेटहरु लोन वा किस्ताबन्दीमा लिन थाल्छन् । तर यसरी जथाभावी अनावश्यक फजुल खर्चका लागि पैसा सापटी लिने वा लोनमा सरसामान लिँदा तपाइँलाई आर्थिक संकट पर्न सक्छ ।

त्यसैले तपाइँ यदि बिदाका समयमा कतै घुम्न जान मन लागेको छ वा कुनै ग्याजेट किन्नुछ भने आफूले बचत गरेको पैसाको मात्र सदुपयोग गर्नुहोस् वा त्यो पैसा लगानी गर्दा प्राप्त हुने प्रतिफललाई सदुपयोग गर्नुहोस् । यसले तपाइँको बचत निरन्तर चलिरहन्छ भने तपाइँका आवश्यकताहरु पनि पूरा भइरहन्छन् ।

युवाका लागि आकस्मिक फन्ड आवश्यक 

अहिलेका युवापुस्ताले करिअरको सुरुआतदेखि नै आकस्मिक फन्ड खडा गरेर आर्थिक व्यवस्थापन गर्न जरुरी देखिन्छ । विशेष गरी प्राइभेट अफिसमा जागिर खानेहरुले आफ्नो आम्दानीबाट नियमित खर्चसँगै बचत र आकस्मिक फन्ड केही रकम जम्मा गर्न जरुरी देखिन्छ । यदि कसैको मोबाइल हरायो वा बिग्रियो, औषधिउपचारका लागि खर्च चाहियो वा अझै भनौँ जागिर नै गयो भने यस्ता आकस्मिक फन्डले युवापुस्तालाई केही महिनासम्म राहात दिन सक्छ ।

यदि तपाइँले यस्तो फन्ड बनाउनुभएको छैन भने भइपरिआउने सक्ने सम्भावित घटनाबाट युवापुस्तालाई आर्थिक संकट पर्न सक्छ । त्यसैले बेलैमा आम्दानीको केही हिस्सा बचत तथा आकस्मिक फन्डमा राख्न जरुरी छ । यस्तो आकस्मिक फन्ड तपाइँले बचत गर्नु भएको पैसा मास्न पनि रोक्छ । 

आवश्यकअनुसार इन्स्योरेन्स पोलिसी लिनुहोस्

करिअरको सुरुआतसँगै हामीले राम्रो इन्स्योरेन्स पोलिसी बनाउन जरुरी हुन्छ । युवापुस्ताले विशेष गरी आफू एक्लो हुँदा जीवन बिमाभन्दा पनि स्वास्थ्य बिमा ध्यान दिनुपर्छ । जसका कारण यदि कम उमेरमै तपाइँलाई जटिल खालका रोग वा दुर्घटना भएमा त्यसले कभर गर्छ । तर करिअरको सुरुआतमै ठूलो रकमको जीवन बिमा गर्दा तपाइँको आर्थिक व्यवस्थापनमा समस्या ल्याउन सक्छ र तपाइँ आर्थिक संकटमा पर्न सक्नुहुन्छ । यदि तपाइँको परिवार छ वा बालबच्चा छन् भने त्यतिबेला तपाइँले उचित जीवन बिमा पोलिसी रोज्नु उत्तम हुनेछ । यसले यदि घरमा कमाउने तपाइँलाई भवितव्यमा केही भइहाले तपाइँको परिवारलाई यसले सपोर्ट गर्न सक्छ । 

त्यसैले करिअरको सुरुआतमा ठूलो बिमा पोलिसीभन्दा पनि आफ्नो आम्दानीबाट बचेको केही पैसा बचतमा र केही हिस्सा  आवश्यकताअनुसारको इन्स्योरेन्स पोलिसीमा लगाउन सकिन्छ । यसले तपाइँको बचतमा पनि असर गर्दै र तपाइँको करिअरलाई समुन्न बनाउँदै लैजान्छ । – एजेन्सी