काठमाण्डौ । डिप्रोक्स लघुवित्त विकास बैंकको खूद नाफा घटेको छ । अघिल्लो वर्ष २६ करोड २९ लाख रहेको नाफा घटेर आर्थिक वर्ष २०७४/७५ मा २३ करोड ८३ लाखमा सीमित बन्न पुगेको हो । 

संभावित जोखिम व्यवस्थापनबाट करिब ७ करोड राइटब्याक गर्दा समेत यो कम्पनीले खूद नाफा बढाउन नसकेको देखिएको छ । 

समीक्षा अवधिमा कम्पनीको अत्यधिक ब्याज खर्च, कर्मचारी खर्चमा भएको अचाक्ली वृद्धि र अन्य संचालन खर्चमा भएको औधी बढोत्तरीले राइट ब्याक गर्दा समेत खूद नाफा घटेको देखिएको छ । 

यो कम्पनीको संचालन मुनाफा समेत घटेको छ । अघिल्लो वर्ष ३५ करोड २२ लाख रहेको यस्तो मुनाफा घटेर ३० करोड ५० लाखमा सीमित बन्न पुगेको छ । 

यो अवधिमा ६० करोड ५४ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानीमा वृद्धि भई ६२ करोड ५७ लाखको उचाईमा पुगेको छ । 

डिप्रोक्सले २ अर्ब ४१ करोड निक्षेप संकलन गरी तथा ४ अर्ब ६५ करोड सापटी लिई ७ अर्ब ७५ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ अर्ब ६७ करोड निक्षेप संकलन गरी तथा ३ अर्ब ७ करोड सापटी लिई ५ अर्ब ४४ करोड बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीले ४५ करोड १९ लाखमा सीमित रिजर्बकोषको आकार बढाई ५१ करोड ७१ लाखको उचाईमा पुर्याएको छ । 

डिप्रोक्सको व्यवस्थापनले खराब कर्जालाई घटाउन भने सकेन । फलस्वरुप अघिल्लो वर्ष ०.७२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर ०.७५ प्रतिशत पुगेको हो । 

समीक्षा अवधिमा डिप्रोक्सको प्रतिसेयर आम्दानी ३३.९० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७३.५६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.१२ गुणा कायम भएको छ ।