काठमाण्डौ ।साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ८.७१ अंकले घटेर २ हजार ४९.२८ को विन्दुमा बन्द भएको छ ।
 

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१२ अंकले घटेर ३७९.१२ को विन्दुमा पुगेको छ। 

आज नेप्सेमा सूचीकृतमध्ये ३०३ वटा कम्पनीका १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर ५ अर्ब ५८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
 

आजको बजारको विषयमा बजार जानकार केशव कोइराला(काका) भन्छन्, ‘बजारमा उत्साह कायमै छ,करिब ३०० अंकले बढेको बजारमा १०० अंक जति घटेर सामान्य करेक्सन आएको मात्र हो, आज बजारलाई हाइड्रोपावर समूहले धानेको देखिन्छ ।अब अझै पाँच/ सात दिन साइडवेज चलेपछि बजार बढ्छ नै किनकि बजारमा ब्याजदर घटेको छ र तरलता बढेको छ ।’

उनका अनुसार नेपाल राष्ट्र बैंकले बजारबाट पैसा तानेको देखिन्छ ।अन्य क्षेत्रको पैसा पनि धमाधम सेयरबजारमा आउन थालेको देखिन्छ । यसकारण लामो वियरिसपछि बजार अब अपट्रेन्डमै जाने उनी बताउँछन् । 
अर्का बजार जानकार, गोविन्द प्रसाद घिमिरेका अनुसार करेक्सनमा आएको यो बजारले लगानीकर्तालाई किन्ने अवसर र मौका दिएको छ ।

उनी भन्छन्, ‘अहिले लगानीकर्ताले पुस मसान्तलगायत विभिन्न कारणले गर्दा पैसाको जोहो गर्नु परेकाले बजारमा सामान्य करेक्सन आएको हो ।’
 

अर्का बजार जानकार कमलराज अधिकारीले पनि पुस मसान्तको प्रभावका कारण बजारमा सामान्य करेक्सन आएको बताए ।

उनी भन्छन्, ‘आगामी साता एक/ दुई दिनको कारोबारपछि बजार फेरि अपट्रेन्डमै लाग्छ ।’

आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूहमध्ये हाइड्रोपावर, लगानी, म्युचुअल फन्ड र व्यापार समूहमा हरियाली छाएको छ भने अरु सबै समूहमा रातो पोतिएको छ ।
 

यो दिन सबैभन्दा बढी व्यापार समूह बढेको छ । यो समूह २.३४ प्रतिशतले बढेको छ ।यसैगरी, दोस्रोमा हाइड्रोपावर समूह १.८५ प्रतिशतले बढेको छ ।

त्यस्तै, लगानी समूह १.११ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन अन्य समूह सबैभन्दा बढी घटेको छ । यो दिन यो समूह ३.७० प्रतिशतले घटेको छ ।त्यस्तै, जीवन बीमा समूह १.२५ प्रतिशतले घटेको  छ। यस्तै बीत समूह ०.९१ प्रतिशतले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन पनि सबैभन्दा बढी कारोबार सोनापुर आयल एन्ड मिनरल्सको भएको छ । कम्पनीको ३३ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यसैगरी, दोस्रोमा शिवम् सिमेन्टको १९ करोड ४८ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको  छ। त्यसैगरी, माउन्टेन इनर्जि लिमिटेडको १८ करोड ६४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपलपमेन्ट फन्डको १६ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै यूनाइटेड इदिमार्दीको १५ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
त्यस्तै, यो दिन चार ओटा अलग- अलग कम्पनीको सेयरमूल्यमा सकारात्ममक सर्किट लागेको छ । यो दिन नेपाल वेयर हाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनी, सिंगटी हाइड्रोपावर र कालिका पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

यसैगरी, यो दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य ६.५६ प्रतिशतले घटेको छ ।

त्यस्तै मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५.८० प्रतिशतले घटेको छ । यसैगरी, नेपाल दूरसञ्चार कम्पनी ५.४५ प्रतिशतले घटेको छ ।