- मनिष सोती

काठमाण्डौ । यतिबेला बीमा कम्पनीहरु पुँजी बृद्धिमा लागि परेका छन्। 

नेपाल बीमा प्राधिकरणले पुँजी बृद्धिका लागि प्रयास गर्ने कम्पनीहरुलाई राइट सेयर जारी गर्न पाउने सुविधासमेत दिएको छ। प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्न प्रयास गरेर पनि न्यूनतम चुक्तापुँजी नपुगे हकप्रद बिक्री खुला गर्न वा संस्थापकहरुबाटै बाँकी रकम थप गर्नुपर्नेछ। 

यसैबीच मर्जरमा नगई नेको इन्स्योरेन्स आफैँले प्राधिकरणले तोकिएको न्यूनतम चुक्तापुँजीको नजिक पुर्याएको छ। कम्पनीको हाल कायम चुक्तापुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ। कम्पनीलाई न्यूनतम चुक्तापुँजी पुर्याउन अझै ४८ करोड ७७ लाख रुपैयाँ अपुग देखिन्छ। यसर्थ कम्पनीले २४.२३ प्रतिशतसम्म हकप्रद जारी गरी पुँजी पुर्याउन सक्नेछ। 

यता एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। कम्पनीले ६६ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरिसकेको छ। हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड रुपैयाँ पुग्नेछ। प्राधिकरणले तोकेको न्यूनतम चुक्तापुँजीको लागि यो कम्पनीलाई अझै ७ करोड ७७ लाख रुपैयाँ अपुग देखिन्छ। यसकारण कम्पनीले न्यूनतम ३ प्रतिशत बोनस वा सञ्चालकहरुबाटै इन्जेक्ट गराउनुपर्नेछ। 

मर्जरमा गएर पनि केही कम्पनीको पुँजी अझै अपुग देखिन्छ। जसमा सानिमा जीआईसी इन्स्योरेन्सलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन अझै ५० करोड रुपैयाँ आवश्यक रहेको छ। यसर्थ कम्पनीले या त सञ्चालकहरुबाटै २५ प्रतिशत रकम इन्जेक्ट गर्नुपर्नेछ वा हकप्रद जारी गर्नुपर्नेछ। 

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्सलाई पनि अझै न्यूनतम चुक्तापुँजी पुर्याउन ५४ करोड ५४ लाख रुपैयाँ अपुग रहेको छ। कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन ३१.२६ प्रतिशत हकप्रद सेयर जारी गर्नुपर्ने आवश्यक देखिन्छ। यसका साथै हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई पनि न्यूनतम चुक्तापुँजी पुर्याउन १९ करोड ८४ लाख रुपैयाँ जुटाउनुपर्नेछ। यसर्थ कम्पनीले ८.६२ प्रतिशत हकप्रद जारी गर्न सक्नेछ वा उक्त प्रतिशतबराबर बोनस सेयर जारी गर्नुपर्नेछ। 

यता जीवन बीमातर्फ नेपाल लाइफ, हिमालयन लाइफ र नेशनल लाइफले न्यूनतम चुक्तापुँजी पुर्याएका छन्। मर्जरमा गएर पनि सूर्यज्योति लाइफलाई न्यूनतम चुक्तापुँजी पुर्याउन अझै ४५ करोड ४४ लाख रुपैयाँ आवश्यक रहेको छ। यसर्थ कम्पनीले सञ्चालकहरुबाट ९.९९ प्रतिशत रकम थप्नुपर्नेछ या त उक्त प्रतिशतबराबर हकप्रद जारी गर्नुपर्नेछ। 

त्यस्तै सानिमा रिलायन्स लाइफलाई पनि न्यूनतम ५ अर्ब चुक्तापुँजी पुर्याउन ८१ करोड ६० लाख रुपैयाँ अझै आवश्यक छ। यसर्थ कम्पनीले १९.५० प्रतिशत हकप्रद जारी गर्न सक्नेछ। 

त्यस्तै आफैँ पुँजी जुटाएको एसियन लाइफ इन्स्योरेन्सको हाल कायम चुक्तापुँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ। कम्पनीले संस्थापक सेयरधनीबाट रकम थप गरी र बोनस सेयर जारी गरेर सवा ३ अर्ब पुँजी पुर्याएको हो। तर कम्पनीलाई अझै न्यूनतम चुक्तापुँजी पुर्याउन १ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ आवश्यक रहेको छ। यसर्थ कम्पनीले ५८.४६ प्रतिशत हकप्रद जारी गर्न सक्ने देखिन्छ। 

एलआईसी नेपालले पनि ८८.४५ प्रतिशत हकप्रद जारी गर्नका लागि प्रक्रिया अघि बढाइसकेको छ। तर, कम्पनीको हकप्रद प्रक्रिया अघि बढ्न सकेको छैन। कम्पनीमा भारतीय सरकारको समेत लगानी रहेको छ। तसर्थ, हकप्रदको बाटो अघि नबढेमा पुँजी जुटाउनका लागि भारतीय सरकारले पुँजी थप गर्नुपर्नेछ। 

यसैगरी प्रभु महालक्ष्मी लाइफलाई पनि न्यूनतम चुक्तापुँजी पुर्याउन अझै ७१ करोड रुपैयाँ अपुग रहेको छ। यसर्थ कम्पनीले १६.५५ प्रतिशत रकम थप गर्नुपर्नेछ वा हकप्रद जारी गर्नुपर्नेछ। 

प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको आइएमई लाइफ र आईपीओ बिक्री खुला गरिरहेका सिजिटन लाइफ तथा सन नेपाल लाइफको चुक्तापुँजी आईपीओ जारीपश्चात अझै अपुग हुने देखिन्छ। त्यसैले यी तीनवटै कम्पनीले पनि अपुग रकम संस्थापकहरुबाटै थप गर्नुपर्नेछ वा अपुग रकमबराबरको हकप्रद जारी गर्नुपर्नेछ। 

राष्ट्रिय बीमा कम्पनी र संस्थान सरकारी कम्पनीहरुको हकमा भने सरकारले नै पुँजीको व्यवस्था गर्ने समझदारी भएको प्राधिकरणले जनाएको छ।