काठमाण्डौ । बैकिङ फ्रड(ठगी) नेपालका लागि नौलो कुरा होइन । जनताको पैसा निक्षेपको रुपमा जम्मा गर्ने र त्यसमा निश्चित व्यक्तिहरु मिलेर लुट मच्चाउने घटना नेपालमा भइरहन्छ । पछिल्लो समय केही बैंक तथा बित्तीय संस्थाहरुले जनताले विश्वास गरेर जम्मा गरेको अर्बौ रकम अपचलन गरेका छन् । यसरी जनताले विश्वास गरेर जम्मा गरेको कति रकम त्यसरी अपचलन भएको होला ? नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालका अनुसार हालसम्म जनताले विभिन्न बैंक तथा बित्तीय संस्थामा जम्मा गरेको १६ अर्ब भन्दा बढी रकम मिलेमतोमा गायब पारिएको छ । 

‘विभिन्न बैंक तथा बित्तीय संस्थाका सीइओ र अध्यक्ष मिलेर जनताको  १६ अर्ब निक्षेप अपचलन गरेका छन् ।’ शुक्रबार बिहान भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार गर्ने क्रममा गभर्नर डा. चिरञ्जिी नेपालले भने–‘१६ अर्ब जनताको निक्षेप हराउनु चानचुने  कुरा होइन । कसले त्यो निक्षेप खायो भन्ने चिनिसकिएको छ, तीमध्ये केही अर्बौ लिएर हराएका छन्, कोही चाहि गायब भएका छन् ।’ 

उनले जनताको निक्षेप अपचलन गर्ने बैंक  तथा बित्तीय संस्थाको नाम भने उल्लेख गरेनन् । तर उनको संकेतमा पछिल्लो पटक नेपाल राष्ट्रबैंकले समस्याग्रस्त घोषणा गरेको ११ वटा बित्तीय संस्थाका सीइओ र संचालक समितिका अधिकारीको मिलेमतोमा जनताको त्यति ठूलो रकम अपचलन गरिएको हो । 

‘हामीले हस्तक्षेप गरी सुधारको प्रयास गरिरहेका ११ वटा बैंक तथा बित्तीय संस्था सके जोगाउँछौ ।’ उनले भने–‘नसके अब तिनीहरुमाथि कडा कारबाही हुन्छ । हिजोको जस्तो बैंक डूबाउनेहरुले राष्ट्रबैंकलाई तह लगाउन अदालत जाने दिन गए ।’ 

उनका अनुसार बिहीबार मात्र संसदबाट पास भएको राष्ट्रबैंक ऐनले केन्द्रीय बैंकलाई शक्तिशाली बनाएको र जनताको निक्षेपमा मनपरी गर्नेहरुलाई अब केन्द्रीय बैंकले नै तह लगाउने उद्घोष समेत गरे । 

‘जनताको निक्षेपको गलत प्रयोग गर्नेलाई हामी छाड्दैनौ ।’ उनले थपे–‘पहिला जस्तो राष्ट’बैंकलाई तह लगाउन अदालत जाउँला भन्ने कसैले सोचेको छ भने त्यो खेल खेल्ने दिन सकिए । अब कानूनले राष्ट्रबैंकलाई बलियो बनाइदिएको छ ।’