काठमाण्डौ । मध्यरातमा एक व्यक्ति सरासर अरुको घर कमाउन्डमा छिर्छन् अनि पुरानो टीभी सेट राखेर जन्छन् । ती व्यक्तिको उद्देश्य के हो र किन गरिरहेका छन् यस्ता हर्कत ? अनुसन्धानको विषय बनेको छ, यतिखेर ।

घटना अमेरिकाको भर्जिनिया सहरको हो । एक व्यक्ति मध्यरातमा चुपचाप अरुको घरआँगजनमा आउँछन् अनि पुरानो टीभी सेट राखेर फर्किन्छन् ।

अझ अचम्मको कुरा यो छ कि ती व्यक्तिले आफ्नो पहिचान लुकाउन टाउकोमा टीभीकै मुखौटा लगाएका छन् । जसका कारणले ती घरहरुमा जडित सीसीटीभी फुटेजबाट पनि ती व्यक्ति पहिचान गर्न सुरक्षा अधिकारीहरुलाई कठिन भइरहेको छ ।

ती व्यक्ति हालसम्म करिब ५० घरमा त्यसरी पुरानो टीभी सेट छाडेर गएको सुरक्षा अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार हालसम्म ती व्यक्तिले अरुलाई भने कुनै किसिमको नोक्सानी पु¥याउने काम भने गरेका छैनन् ।

सुरक्षाकर्मीका अनुसार तीमध्ये एकाध घरले पुरानो टेलिभिजन राखेका छन् भने बाँकीले सुरक्षाकर्मीलाई फर्काएका छन् । असामान्य यो घटनाका बारेमा सुरक्षाकर्मीहरुले अहिलेसम्म कुनै पनि किसिमको प्रमाण फेला पार्न सकेका छैनन् । यद्यपि त्यस्तो कुनै घटना भएको छैन, जसले गर्दा उनीहरुको निद हराम होस् ।

स्थानीयस्तरमा भने यो कुनै प्राङ्क हुन सक्ने अनुमान लगाइएको छ । प्राङ्क नै हो भने पनि हालसम्म कसैले जिम्मेवारी भने लिइसकेका छैनन्। – एजेन्सी