काठमाण्डौ । एनआइसी एशिया बैंकले ललितपुरको मंगलबजार र काठमाण्डौको दरबारमार्गमा एकैसाथ शाखा संचालनमा ल्याएको छ ।

ललितपुर महानगरपालिका वडा नं १२, टंगाल पाटन स्थित मंगलबजार शाखा र  काठमाण्डौ महानगरपालिका वडा नं १, दरबारमार्ग स्थित दरबारमार्ग शाखा मंसिर २९ गते आइतबारका दिन औपचारिक रुपमा उद्घाटन भएका हुन् । 

मंगलबजार शाखाकोे समुद्घाटन सोही वडाका वडा अध्यक्ष नारायणलाल अवालेले र दरबारमार्ग शाखाकोे समुद्घाटन एनआइसी एशिया बैंकका उप–प्रादेशिक कार्यालय काठमाण्डौका प्रमुख तेजराज तिमिल्सिनाले गरेका हुन् । यी दुई नयाँ शाखा सञ्चालनमा आएसँगै ललितपुर र काठमाण्डौ क्षेत्रका ग्राहकलाई बैंकको सेवा प्राप्त गर्न थप सहज हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल यो बैंकको देशभर ३११ शाखा, ४०३ एटीएम, ९५ एक्सटेन्सन काउण्टर तथा ४४ वटा शाखारहित इकाईको वृहत सञ्जाल रहेको छ । देशकै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक एनआइसी एशियाका हाल करिब १९ लाख ग्राहक छन् । 

बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।