काठमाण्डौ । कात्तिक महिनामा देशका बैंक तथा वित्तीय संस्था १५ दिन बन्द हुने भएका छन् । 

ठूला दुई पर्व यो वर्ष कात्तिकमै परेका कारण बैंक तथा वित्तीय संस्थाका सेवाहरु १५ दिन बन्द हुने भएको हो । 

यसपटक बैंक तथा वित्तीय संस्थाहरुले दशैंका लागि ६ दिन र तिहारका लागि ५ दिन विदा पाउनेछन् । कात्तिक महिनामा ४ वटा शनिवार रहेको छ।

यसरी हिसाब गर्दा दशैं र तिहार विदा तथा शनिवारको सार्वजनिक विदा समेत जोड्ने हो भने कात्तिकमा १५ दिन बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । 

आगामी कात्तिक ४ गते दशैंको फूलपाती परेको छ । सो दिनदेखि बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । कात्तिक १० गते शुक्रबारबाट सेवा पुनः सुचारु हुनेछ । 

यसैगरी, कात्तिक २६ गते लक्ष्मीपूजा परेको छ भने २९ गते भाइटीका परेको छ । 

राष्टबैंकले प्रकाशित गरेको सूचनाअनुसार यो वर्ष बैंकका कर्मचारीहरुले कुल ३५ दिन विदा पाउनेछन् । यो भनेको शनिवारबाहेकको विदाको सूची हो ।

नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द भएका थिए । 

२०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित भएको छ(हुनेछ) । जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् ।

यस्तै इन्द्र जात्रा, भोटो जात्रा, गाईजात्रा, घोडेजात्राको दिन काठमाडौं उपत्यकामा पूर्ण बिदा हुनेछ भने सीमित बैंकिङ कारोबारहरु फागु पूर्णिमामा पहाडी र हिमाली जिल्लामा हुने बिदाको भोलिपल्ट तराईका जिल्लामा बिदा हुनेछ । फागु पूर्णिमाका दिनमा भने सीमित बैंकिङ सेवा भने उपलब्ध हुनेछ ।

दशैं र तिहारमै पनि बैंक तथा वित्तीय संस्थाहरुले निश्चित संख्याका शाखा तथा काउण्टरहरुबाट सेवा दिने गरेका छन् । यसले समेत अत्यावश्यक बैंकिङ काम गर्न चाहनेहरुका लागि भने समस्या पर्ने देखिन्न ।