काठमाण्डौ । उठ्न नसकेको कर्जा असूलीमा ध्यान दिएर ठूलो परिमाणमा राइटब्याक गर्दा देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको मुख्य वित्तीय सूचकमा चमात्कारिक परिवर्तन देखिएको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा बैंकले पहिलोपटक १ अर्ब बढी खूद नाफा आर्जन गर्ने सफलता पाएको हो । 

समीक्षा अवधिमा बैंकको खूद नाफा १ अर्ब १ करोड माथि कायम भएको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले ३५ करोड ८१ लाख मात्रै नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको संचालन मुनाफा अघिल्लो वर्षको समान अवधिको तुलनामा करिब २१३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोडको उचाईमा पुगेको छ । 

बैंकले व्यवसाय वृद्धिमा समेत यो अवधिमा ध्यान दिएको देखिन्छ, परिणामस्वरुप खूद ब्याज आम्दानी २ अर्ब १४ करोड रहेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.६६ प्रतिशतले बढी हो । 

बैंकको कर्जा विस्तार अघिल्लो वर्षको तुलनामा बढेको छ भने निक्षेप संकलन दर भने घटेको छ । अघिल्लो वर्ष ७८ अर्ब ७ करोडमा सीमित कर्जा बढेर ८७ अर्ब २ करोडको उचाईमा पुगेको छ भने ९३ अर्ब ४९ करोडभन्दा माथि रहेको निक्षेप घटेर ९० अर्ब ५२ करोडमा सीमित बन्न पुगेको छ । 

खूद मुनाफातर्फ छलाङ मारेको बैंकको रिटेन अर्निङ भने अघिल्लो वर्षको समान अवधिको तुलनामा घटेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५५ करोड १७ लाख रहेको रिटेन अर्निङ घटेर यो वर्ष ५१ करोड ७२ लाखमा सीमित बनेको हो । 

समीक्षा अवधिमा बैंकले खराब कर्जाको अनुपात सुधारमा पनि निकै ध्यान दिएको देखिएको छ । यहीकारण खराब कर्जा अनुपात २.९६ प्रतिशतबाट घटेर १.६० प्रतिशतमा सीमित बन्न पुगेको छ । 

सीडी रेसियो ९३.५७ प्रतिशत रहेको बैंकको नाफामा उछाल आउँदा वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म रु.५.२९ रहेको इपीएस बढेर  रु.१४.१७ रुपैयाँ कायम भएको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ रु.१२४.१६ र मूल्य आम्दानी अनुपात १५.१७ गुणा, कस्ट अफ फण्ड ७.४९ प्रतिशत, आधार दर ९.६३ प्रतिशत कायम भएको छ ।