काठमाण्डौ। विभिन्न कारण देखाएर विश्वका ठूला प्रविधि कम्पनीहरु थप कर्मचारी कटौती गर्ने योजनामा रहेको खुलासा भएको छ ।

मेटा, अमेजन, एचपी तथा ट्वीटर जस्ता दिग्गज कम्पनीहरु हालैका दिनमा पनि ठूलो संख्यामा कर्मचारीहरु कटौती गरिरहेका छन् । हुन त विश्वभरका प्रविधि कम्पनीहरुमा कर्मचारी कटौतीको सिलसिला जारी छ । 

एक तथ्यांक अनुसार अहिलेसम्म विश्वका कम्तिमा ८५३ वटा प्रविधि कम्पनीहरुले करीब १ लाख ३७ हजार ४९२ जनाभन्दा बढी कर्मचारीहरु हटाइसकेका छन् ।  विश्व आर्थिक मन्दीको त्रास तथा रसिया युक्रेन युद्धका कारण खासगरी प्रविधि क्षेत्रका धेरै कम्पनीहरुले अहिले पनि कर्मचारी कटौतीलाई जारी राखेका छन् ।
अमेजनमा जारी रहने छ कटौतीको सिलसिला

ई-कमर्स कम्पनी अमेजन तथा कम्प्युटर निर्माता कम्पनी एचपी जस्ता कम्पनीले आगामी दिनमा थप क्रमशः १० हजार तथा ६ हजार कर्मचारी कटौतीको योजना बनाएका छन् ।

अमेजनका सीईओ एन्डी जेसीले  त सन् २०२३ को सुरुवातदेखि नै धेरै कर्मचारीको कटौती हुने बताइसकेका थिए । ठूलो परिमाणमा कर्मचारीको कटौतीले अमेजन कम्पनीका विभिन्न महाशाखाहरुको काम पनि प्रभावित भइरहेको छ । अमेजनका सहायक अन्य कम्पनीहरु त सन् २०२३को शुरुदेखि नै घाटामा जान  थालिसकेका छन् ।

द इन्फर्मेसनको एक रिपोर्ट अनुसार गूगलले आगामी दिनमा अझै नयाँ सूचि तथा प्रदर्शन सुधार योजना अन्तरगत १० हजार घटाउने योजना बनाएको छ ।

आर्थिक मन्दीको त्रासले विश्वभरका प्रविधि कम्पनीहरु त्रसित भएका छन् । पहिले कोरोना लकडाउन तथा वर्कफ्रम होमको कारणले गर्दा पर्सनल कम्प्युटर तथा ल्यापटपको बिक्री बढेको जस्तो देखिएपनि हालैका दिनमा यो क्षेत्र सुस्ताइसकेको छ ।

हाल प्रविधि कम्पनीहरुमा धेरै कर्मचारीहरु कटौती गर्नुको एउटा मुख्य कारण भनेको कोरोना महामारीमा अनलाइन बिजनेसको क्षेत्रमा धेरै कर्मचारी भर्ना गर्नु हो । त्यसबेला ती कम्पनीहरुले आवश्यकता भन्दा धेरै कर्मचारी भर्ना गरेका थिए।

तर अहिले विश्व बजार नै थप मन्दीमा जाने देखेपछि ती कम्पनीहरुले बजार सन्तुलन कायम गर्न र खर्च कम गर्नका लागि लगातार कर्मचारी कटौती गरिरहेका छन् । यसैक्रममा गोपनीयता केन्द्रित ब्राउजर बनाउने ब्रेभ सफ्टवेयरले कूल कर्मचारीमध्ये ९ प्रतिशतलाई कामबाट हटाउने तयारी गरिरहेको छ । समाचार संस्था टेक क्रन्चका अनुसार कम्पनीले संख्या नतोके पनि कर्मचारी निकाल्ने पुष्टि भने गरेको छ ।

यससँगै मेटा, गुगल, माइक्रोसफ्ट, नेटफ्लिक्स, अमेजन लगायतका अन्य ठूला प्रविधि कम्पनीले जस्तै आर्थिक मन्दीलाई कारण देखाउँदै कर्मचारी निकाला गर्ने कम्पनीमा ब्रेभ थपिन पुगेको छ ।

ब्रेभ ब्राउजर र ब्रेभ सर्च इन्जिन चलाइरहेको उक्त कम्पनीले आर्थिक मन्दीकै कारण कर्मचारी कटौती गर्नुपरेको समाचारमा उल्लेख छ । तर कर्मचारी निष्कासन गरेपनि ब्राउजर र सर्च इन्जिनको विकासमा कुनै कसरत गर्न नछाड्ने ब्रेभले उल्लेख गरेको छ ।

हाल ब्रेभले आफ्नो एपीआई, लियो (सशुल्क एआई एसिस्टेन्ट), ब्रेभ वालेट, विज्ञापन, मर्चेन्डाइज आदिबाट आम्दानी गर्ने गर्छ ।तर यो कम्पनी गूगल, माइक्रोसफ्टका अगाडि ब्रेभ निकै सानो कम्पनीको रुपमा रहेको छ । एजेन्सीको सहयोगमा