काठमाण्डौ । स्याङ्जामा मुख्य कार्यालय रहेको कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमीटेडको नाफामा संकुचन आएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा २ करोड २२ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष कम्पनीको खूद नाफा २ करोड ६४ लाख थियो । 

कम्पनीको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ५ करोड ५९ लाख रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ७ करोड १६ लाखको उचाईमा पुुगेको छ । यस्तै, ३ करोड ७७ लाख रहेको संचालन नाफा घटेर ३ करोड ४ लाखमा सीमित बन्न पुुगेको छ । 

कर्मचारी खर्च र अन्य संचालन खर्च समेत नियन्त्रण गर्न नसक्दा यो कम्पनीको नाफा घटेको देखिन्छ । 

कालिकाले यो अवधिमा ३८ करोड ४९ लाख सापटी लिई तथा ३२ करोड १५ लाख निक्षेप संकलन गरी ७६ करोड ९० लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १८ करोड ७३ लाख सापटी लिई तथा २० करोड ९२ लाख निक्षेप संकलन गरी ४३ करोड १७ लाख कर्जा परिचालन गरेको थियो । 

महत्वपूर्ण सूचकमध्येको एक रिजर्ब कोषमा समेत यो कम्पनी कमजोर बन्दै गएको छ । ७ करोड ६४ लाखको रिजर्ब कोष खिइएर ५ करोड २७ लाखमा सीमित बन्न पुुगेको हो । हाल यो कम्पनीको चुक्तापूँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा कालिका माइक्रो क्रेडिटले १.५८ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपातलाई घटाएर १.५२ प्रतिशतमा झार्ने सफलता पाएको छ । ५.५० प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ९ प्रतिशत पुुगेको छ । 

यो अवधिमा कालिकाको प्रतिसेयर आम्दानी २७.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४.३८ गुणा कायम भएको छ ।