काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा संस्थाले ४ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४१ लाख ८८ हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफाबापत २ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थालाई १ करोड १४ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो। 

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा २०.१९ प्रतिशतले बढेको छ। गत वर्ष ६ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ६३ लाख रुपैयाँ भएको छ।

संस्थाले १ अर्ब ५४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ३८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष संस्थाले १ अर्ब २२ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ३०.७८ प्रतिशतले बढेर १९ करोड ३४ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १४ करोड ७८ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २७ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ६९.२० रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १७.५० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६९.६८ रुपैयाँ रहेको छ।