-अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपालमा कारोबार व्यवस्थापन प्रणाली(टीएमएस) सञ्चालनमा आएको ५ वर्ष पुगेको छ ।

तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले २०७५ कात्तिक २० गते नयाँ टीएमएसको उद्घाटन गरेका थिए । टीएमएस उद्घाटन गर्दै खतिवडाले भनेका थिए, ‘सेयर बजार ओपन क्राई सिस्टमबाट  ई- कमर्समा गएको छ  ।’

 त्यसबेला पनि बजारले अहिले जस्तै घटेर १ हजार १०० को बिन्दुमा पटक पटक सपोर्ट लिएको थियो । तत्कालिन अर्थमन्त्रीले उक्त कार्यक्रममा लगानीकर्तालाई आश्वासन दिंदै भनेका थिए, ‘ब्याजदर घट्दै छ, बजारले अव नयाँ  मोड लिन सक्छ । तर बजारले त्यसको एक वर्षपछि अर्थात् उनी पदबाट बर्हिगमन भएपछि नयाँ उचाइ लिएको थियो ।

पहिलाको टीएमएसमा धेरै अस्तुष्टि देखिएपछि ब्रोकरहरुले नयाँ आफ्नै टीएमएस ल्याउने प्रक्रिया अगाडि बढाएका थिए । लामो रस्साकस्सी पछि २०७७ साल माघ  महिनामा नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भीष्म राज ढुंगानाले एपीआई पोलिसि पास गरेर नयाँ टीएमएसको ढोका खोलिदिएका थिए । तर प्रक्रिया शुरु भएको ३ वर्ष पुरा हुँदा पनि नयाँ टीएमएस आउन सकेको छैन ।

नयाँ टीएमएस लागू गर्दै नेतृत्व गरेका स्टक ब्रोकर एशोसिएशन अफ नेपालको निबर्तमान अध्यक्ष सन्तोष मैनालीले परिक्षणको काम चल्दै गरेको र छिट्टै आउने बताउँदै आएका छन् । तर आइहाल्ने कुनै गुञ्जायस छैन । बरु मैनाली नै आजभोलि बजारबाट गुमनाम छन् । 

त्यसैगरि,  नेप्से-३०  को कथा पनि कम रोचक भने छैन । पहिले नेप्से- ४० ल्याउने भनेर विगुल फुकिएको यो इन्डेक्स पछि गएर ३० मा टुँगो लाग्यो । बजार नियामकले पहिले दसैं अगाडी नै लागू हुन्छ भनेर हल्ला चलाएको भएता पनि अब आउने नयाँ वर्षमा आउला या नआउला, सम्भावना भने देखिदैन ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर कार्कीसँग यसबारे बुझ्न खोज्दा बोर्डका अध्यक्षको कार्यब्यस्तताले गर्दा बैठक बस्न नसक्दा नेप्से- ३० आउन ढिलो भएको जानकारी दिए ।