– मनिष सोती काठमाण्डौ । बीमा अभिकर्तालाई जीवन बीमा कम्पनीको मेरुदण्डका रुपमा लिइन्छ । बीमा कम्पनीको प्रोडक्टहरुका बारेमा बीमा अभिकर्ताले राम्रोसँग जान्नु पर्दछ। जीवन बीमा कम्पनीको हकमा ८० प्रतिशतभन्दा बढी व्यवसाय अभिकर्तामार्फत भित्रिएको हुन्छ । 

बीमा कम्पनीका उच्च व्यवस्थापक टिम र सञ्चालक समितिले समेत बीमा अभिकर्ताहरुलाई कम्पनीको मेरुदण्डको रुपमा रहने कुरा बताउँदै आइरहेका छन् । पछिल्लो समय बीमा अभिकर्ताहरुमा भने बीमाको ज्ञान नहुँदा र बीमितहरुलाई बीमाको बारेमा राम्रोसँग बुझाउन नसक्दा बीमा पोलिसी त्याग–समर्पण (सरेन्डर) गर्ने क्रम बढ्दै गइरहेको नेपाल बीमा प्राधिकरणले बताएको छ ।

बीमा अभिकर्ताले परीक्षामा जोखिम व्यवस्थापन, बीमाको परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, बीमाशुल्क र बोनस, जोखिमांकन, दाबी भुक्तानी प्रक्रिया, बीमा सम्बन्धी कागजात, कर, कानुनी व्यवस्था र बीमा बजारलगायत सम्पूर्ण प्रश्नहरुको हल गर्नुपर्ने हुन्छ । यस्तै बीमा सम्बन्धी सम्पूर्ण जानकारी अभिकर्ताहरुले व्यवहारमा समेत लागू पर्ने हुन्छ । 
अभिकर्ताले बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु :
– बीमा गर्नुअघि अभिकर्ताले बीमितसँग प्रत्यक्ष भेट्नुपर्छ । अभिकर्ताले बीमितको मनोवैज्ञानिक अध्ययन पनि गर्नुपर्छ । बीमितको उमेर, पेशा, बानी, स्वास्थ्य अवस्था, परिवारको माहोल र अन्य आयस्रोत सबैका बारेमा प्रत्यक्ष जानकारी लिनुपर्दछ । यसरी प्रत्यक्ष भेटेर बुझ्दा सम्बन्धित व्यक्ति बीमा गर्न सक्षम छ या छैन सबै थाहा हुन्छ ।
– अभिकर्ताको अनुपस्थितिमा प्रस्ताव फाराम भरेर ल्याएमा डाइरेक्ट बीमा प्रक्रिया अघि बढाउनु हुँदैन । प्राधिकरणले तोकेको मापदण्ड अनुसार बीमितसँग घातक रोगहरु हुन सक्छ । बीमा गर्ने व्यक्तिसँग घातक रोग भएमा दाबी भुक्तानीको जोखिम हुन सक्छ । पछिल्लो समय बीमा क्षेत्रमा पनि अपराधिक क्रियाकलाप बढीरहेको छ । यस्तो कुरामा अभिकर्ता सजग रहनुपर्दछ । 
– अभिकर्ताले कमिशन पाउने प्रलोभनमा बीमितको आर्थिक अवस्थाको बारेमा नबुझी बीमा गराउनु हुँदैन । यदि बीमितले वार्षिक प्रिमियम तिर्न सकेन भने बीमालेख व्यतित हुन्छ र सरेण्डरको संख्या बढ्दै जान्छ । साथै आर्थिक अवस्था हेरेर कति रकमसम्मको बीमा गर्न सक्षम छ, त्यो हेरेरमात्रै अभिकर्ताले बीमा प्रक्रिया अघि बढाउनुपर्दछ । जस्तैः मासिक आयस्रोत ५० हजार रुपैयाँ छ भने वर्षमा ३०–४० हजार रुपैयाँ किस्ता पर्नेगरी बीमा गराउँदा उचित हुन्छ । 
– अभिकर्ताले बीमा कम्पनीको पोलिसीहरुको बारेमा राम्रो ज्ञान लिन जरुरी छ । अधिकांश बीमा अभिकर्ताहरुले आफ्नो कोडमार्फत धेरै बीमालेख जारी भएको देखाउन बीमितहरुलाई गलत तथ्यांक वा झुटो आश्वासन पनि दिलाउने गरेको पाइन्छ ।यस्तो गर्नु गलत  हो । अभिकर्ताले कम्पनीको बोनस रेटका बारेमा राम्रो जानकारी लिनु पर्दछ ।१० लाख रुपैयाँको बीमा गर्दा २० लाख रुपैयाँ आउँछ वा डबल आउँछ भनेर अभिकर्ताले कहिल्यै पनि बीमितलाई बताउनु हुँदैन । परिपक्व हुने समय वा मृत्यु दावी गर्ने क्रममा भनेजस्तो भुक्तानी नहुँदा अभिकर्ता वा कम्पनीलाई ठगीको आरोप लाग्दछ । 
– बीमा गर्दा अभिकर्ताले बीमा प्रस्तावक फारम भर्दा बीमितको व्यवसाय परिवर्तन गर्नु हुँदैन । यदि जोखिमपूर्ण व्यवसाय भएमा बीमकले तोकेको शुल्क अनिवार्य तिर्न लगाउनुपर्दछ । जसले गर्दा बीमित, बीमा कम्पनी र अभिकर्ता सुरक्षित रहन्छन् । 
–प्रस्तवित व्यक्ति अपराधिक क्रियाकलाप तथा अनैतिक क्रियाकलापमा संलग्न छ या छैन त्यो बुझेर मात्रै बीमा गर्नुपर्दछ । अन्यथा बीमा जोखिमपूर्ण हुन्छ । यदि प्रस्ताव फारम भर्नुपरेमा अभिकर्ताको गोप्य प्रतिवेदनमा आफुले जाने–बुझेका कुराहरु उल्लेख गर्नुपर्दछ । 
– बीमा अभिकर्ताले सामाजिक बीमामार्फत् सामाजिक सेवाको भावना पनि राख्नुपर्दछ । स–सानो रकमबाट समेत बीमा गराउन सकिन्छ भन्ने मान्यतास्वरुप न्यून आय भएकाहरुलाई बीमा गर्न प्रोत्साहन गर्नुपर्दछ । नियमित प्रिमियम बुझाउन नसक्ने व्यक्तिलाई बीमा गराउन हुँदैन  । बरु सानो बीमांकको लामो अवधिको बीमा गराउँदा बीमा निरन्तर हुन जान्छ । 
– अभिकर्ताले बीमा प्रस्तावक फाराम भर्दा प्रस्तावकको समेत जानकारी लिनुपर्दछ । यदि बीमितको प्रस्तावकको आयस्रोत नभएको वा स्वास्थ्य      अवस्थासमेत राम्रो नभएमा त्यस्तो प्रस्तावक राख्नुहुँदैन । यसले जोखिम झन बढ्न सक्ने सम्भावना हुन्छ । 
– अभिकर्ताले बीमितहरुको बीमा शुल्क बीमा कम्पनीमा यथाशिघ्र भुक्तानी गर्नुपर्दछ । कतिपय अवस्थामा बीमितले अभिकर्तालाई शुल्क बुझाएको तर     अभिकर्ताले बीमा कम्पनीमा नबुझाउँदा बीमालेख निष्क्रिय भएको देखिन्छ । यस्तो गर्दा बीमा अभिकर्ता र बीमित दुबै कालोसूचीमा समेत पर्न सक्ने       सम्भावना हुन्छ। 
– बीमितले समयमा नै बीमा शुल्क भुक्तानी नगर्दा बीमालेख व्यतित हुन जान्छ । यस्तो अवस्थामा अभिकर्ताले बीमितलाई राम्रोसँग बुझाउन सक्नुपर्दछ । अभिकर्ताले यस्तो अवस्था आउन नदिन ग्राहकलाई समय–समयमा भेटेर शुल्क बुझाउन लगाउनुपर्दछ । साथै शुल्क नबुझाएमा हुने घाटाको बारेमा पनि बुझाउनु पर्दछ ।