काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल बैंक लिमीटेडको खूद नाफातर्फ अत्यासलाग्दो गरी गिरावट आएको छ । 

पहिलो त्रैमासमा सबै वाणिज्य बैंक, बिमा कम्पनी तथा सूचिकृत अन्य कम्पनीहरुले राम्रो नाफा आर्जन गरिरहँदा सिभिलले भने आफ्ना लगानीकर्तालाई निराश पार्दै खराब प्रदर्शन गरेको हो । 

अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा सिभिल बैंकको खूद नाफा चालु आबको सोही अवधिमा ७५.२३ प्रतिशतले गिरावट आयो । 

सिभिल बैंकले बिहीबार प्रकाशन गरेको बित्तीय विवरण अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा ५ करोड ८७ लाख खूद नाफा आर्जन गरेको बैंकको नाफा खुम्चिएर यो वर्ष १ करोड ४५ लाखमा झरेको हो । 

बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १४ करोड ५९ लाख रहेको खूद ब्याज आम्दानीमा वृद्धि भई २२ करोड ९७ लाख रुपैयाँ पुगेको हो । बैंकको चुक्तापूँजी ३ अर्ब ८ करोड र सञ्चित कोषमा ५३ करोड ७९ लाख रुपैयाँ रहेको छ । 

बैंकले पहिलो त्रैमासमा ३१ अर्ब ३४ करोड निक्षेप संकलन गरी २६ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा २७ अर्ब ३७ करोड निक्षेप संकलन गरी २३ अर्ब ४९ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकको निस्क्रिय कर्जा दर पनि बढेको छ । अघिल्लो आबको पहिलो त्रैमासमा २.५४ प्रतिशत रहेको निस्क्रिय कर्जाको दर बढेर यो वर्ष सोही अवधिमा ४.१३ प्रतिशत पुगेको छ । 

सिभिल बैंकको प्रति सेयर आम्दानी १.८५ रुपैयाँ र प्रति सेयर नेटवर्थ ११७.४५ रुपैयाँ कायम भएको छ । 

सिभिल बैंकले हालै आइएलएफसी फाइनान्ससँग मर्ज सकेको छ । यो बैंकले हालै यूनिक फाइनान्स र हामा मर्चेन्ट  एण्ड फाइनान्सलाई अक्वायर गर्ने सम्झौता गरेको थियो ।