काठमाण्डौ । गाडी निर्माता कम्पनी कियाले आफ्नो इलेक्ट्रिक कार ‘किया ईभी सिक्स’ यही मार्चको अन्त्यतिर लन्च गर्ने भएको छ।

कम्पनीले लन्चअघि नै यो कारको फोटो सार्वजनिक गरेको छ। किया कर्पोरेसनका तर्फबाट जारी गरिएको तस्बिरमा पहिलोपटक यो कारको एक्सटेरियर र इन्टिरियर सार्वजनिक गरिएको छ। 

दक्षिण कोरियाली गाडी निर्माता कम्पनी कियाले एउटा मेगा अनलाइन इभेन्टमा यो कारको वल्र्ड प्रिमियर गर्ने तयारी गरेको छ। 

ईभी सिक्स ब्याट्री इलेक्ट्रिक भेइकलका लागि विशेष रुपमा डेभलप गरिएको नयाँ इलेक्ट्रिक–ग्लोबल मोड्युलर प्लेटफर्म (ई–जीएमपी) बाट बनाइएको छ। यसमा बोल्ड अफ नेचर, जोय फर रिजन, पावर टु प्रोग्रेस, टेक्नोलोजी फर लाइफ र टेन्सन फर सेरेनिटीमा आधारित छ। किया ईभी सिक्समा नोज ग्रिल, स्लिक डे टाइम रनिङ लाइट्स (डीआरएलएस) र निकै आकर्षक हेडल्याम्पका साथ डायनामिक प्याट्रनको एयर इन्टेक पनि दिइएको छ। कारको साइमा दिइएको स्वेप्ट ब्याक विन्डशिल्ड र क्यारेक्टर लाइन्सले यसलाई झन शानदार लुक दिएको छ।

यो कारमा एउटा ठूलो अडियो भिजुअल नेभिगेसन सिस्टम पाइनेछ। जसले स्टियरिङ ह्विलहुँदै पूरै सेन्टर ड्यासबोर्डलाई कभर गरेको छ। यसले पूरै युनिट इन्स्ट्रमेन्ट क्लस्टर, इन्फोटेन्मेन्ट सिस्टम, नेभिगेसन डिटेललाई डिस्प्ले गर्नेछ। साथै, यो कारमा प्यासेन्जर कन्ट्रोल, हिटिङ, भेन्टिलेसन र एयर कन्डिसनिङ सेटिङ्स रहेका छन्। इन्टिरियरमा सिट र फ्याब्रिकले पनि यो कारको लुकलाई शानदार बनाएको छ। 

कियाको यो नयाँ इलेक्ट्रिक कार एकपटक फुल चार्ज गर्दा ५०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। मिडिया रिपोर्टका अनुसार यसमा ई–जीएमपी प्लेटफर्म प्रयोग गरिएको छ। जसले कार १८ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ । कम्पनीले यो कारमा ७२.६ केडब्ल्यूएच क्षमताको ब्याट्री जडान गरेको छ। – एजेन्सी