काठमाण्डौ । ठूला चाडपर्वको मुखमा किसान माइक्रो फाइनान्सले आफ्ना लगानीकर्ताहरुको दुवै हातमा लड्डू भरिदिने प्रस्ताव गरेको छ । 

यो कम्पनीको संचालक समितिको बैठकले लगानीकर्तालाई ६१ प्रतिशत बोनस र ३९ प्रतिशत हकप्रद वितरणको घोषणा गरेको हो । 

असोज ३ गते बसेको संस्थाको संचालक समितिको बैठकले  आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई ६१ प्रतिशत बोनस सेयर, ३.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको हो । सो बैठकले पूँजी वृद्धिको उद्देश्यले लगानीकर्तालाई ३९ प्रतिशत हकप्रद वितरणको समेत घोषणा गरेको छ । एकैपटक ठूलो परिमाणमा बोनस सेयर र हकप्रद समेत वितरणको घोषणा गरेर लगानीकर्तालाई यो कम्पनीले बम्फर उपहार दिएको भन्न थालिएको छ । 

दुवै प्रस्ताव नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणले स्वीकृत गर्नुपर्नेछ । 

किसान माइक्रो फाइनान्सले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमाससम्ममा १ करोड ३४ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी २ करोड रुपैयाँ रहेको छ । बोनस र हकप्रद वितरणपछि चुक्तापूँजी ४ करोड ४७ लाख रुपैयाँ पुग्नेछ ।