काठमाण्डौ । कुमारी बैंक लिमीटेडले परिवारका एकजनाले खाता खोल्दा सबैको बिमा कभर हुने नवीन बचत खाता लञ्च गरेको छ । 

आइतबार बैंक परिसरमा एक समारोहका बीच ‘कुमारी परिवार सुरक्षा बचत खाता’ नामको बचत प्रडक्ट लञ्च गरिएको हो ।

बैंकको दाबीअनुसार नेपालमै पहिलोपटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य बुबा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य आमा वा बुबा, आफैं तथा दुई सन्तानको स्वतः बिमा हुने व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए ।

उनका अनुसार यो बचत खाता खोल्न न्यूनतम १० हजार बचत राख्नुपर्नेछ । वार्षिक ६.५ प्रतिशतका दरले बचत रकमको ब्याज पनि पाइनेछ । 

यो बचत खाता खोल्दा दम्पत्तिलाई १० लाख दरको रु. २० लाखसम्मको आकस्मिक दुर्घटना बिमाका साथै पूर्ण शारिरीक अशक्तता बिमाको कभर प्राप्त हुनेछ । 

यस्तै, परिवारका चारै सदस्यलाई १० घातक रोगहरुका लागि ५ लाखसम्मको बिमाको सुविधा प्रदान गरिएको छ । 

यस्तै, परिवारका चारै सदस्यलाई अस्पताल भर्न हुनुपर्ने खण्डमा औषधोपचारको रु १ लाखसम्मको बिमा सुविधा पनि उपलबध गराइने र यो बचत खाता खोल्दा कुल रु. २६ लाखसम्मको बिमा सुविधा प्राप्त हुने बैंकले प्रष्ट्याएको छ ।