काठमाण्डौ । कुमारी बैंक लिमीटेडको नाफा घटेको छ । अघिल्लो वर्ष ७१ करोड ६० लाख नाफा कमाएको यो वाणिज्य बैंकले आर्थिक वर्ष २०७३/७४ मा ७० करोड मात्र नाफा कमाउनसक्यो । 

तर, यो नाफा कुमारी बैंक र यसमा गाभिएका चारवटा कम्पनीको समीक्षा अवधिको १७ दिनको नाफा मात्र हो । चारैवटा कम्पनीको वास्तविक नाफा समेत जोड्ने हो भने कुमारी बैंकको वास्तविक मुनाफा ९८ करोड माथि हुन आउँछ । 

कुमारी बैंक मात्रैले भने व्यवसाय बिस्तारमा खासै सफलता हासिल गर्न सकेन । एनसीसी बैंकसँग मर्जरको क्रममा रहे पनि बीचमै सो प्रक्रियाबाट बाहिरिएपछि र पूँजीवृद्धिका लागि अन्य कम्पनीसम्म दौडधूप गर्नुपर्दा यो बैंकको व्यवस्थापनले व्यवसाय बिस्तारमा ध्यान नदिएको देखिन्छ। 

गत वर्ष १ अर्ब १७ करोड रहेको खूद ब्याज आम्दानी समीक्षा अवधिमा १ अर्ब २९ करोड मात्र भएको छ । यो खासै ठूलो प्रगति होइन । 

अघिल्लो वर्ष ७५ करोड ४९ लाखमा सीमित संचालन मुनाफा यो बर्ष केही बढेर ८० करोड १६ लाखको उचाईमा पुुगेको छ । 

विदेशी मुद्राको कारोबारबाट हुने आम्दानी घटेको छ भने कर्मचारी खर्चमा निकै ठूलो वृद्धि देखिएको छ । अघिल्लो वर्ष कर्मचारी खर्च ३१ करोड ६५ लाख रहेकोमा बढेर यो वर्ष ३७ करोड ४६ लाख पुुगेको छ । २६ करोड ४५ लाख रहेको अन्य संचालन खर्च समे बढेर २९ करोड ६५ लाख पुुगेको छ । खर्च बढे पनि व्यवसाय बिस्तारमा आक्रामक बन्न नसक्दा कुमारीको घाटा घट्न पुुगेको हो । 

समीक्षा अवधिमा कुमारी बैंकले ५२ अर्ब ७ करोड निक्षेप संकलन गरी ४५ अर्ब १९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३७ अर्ब ९५ करोड निक्षेप संकलन गरी ३० अर्ब ११ करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले समीक्षा अवधिमा प्रगति गरेको सबैभन्दा आकर्षक पक्ष चाहि जगेडा कोष हो । अघिल्लो वर्षको यो अवधिमा जगेडा कोषमा ७६ करोड ७६ लाख रहेकोमा वृद्धि भई यो वर्ष २ अर्ब ११ करोड जम्मा भएको छ । यो भनेको १७५ प्रतिशतको छलाङ हो । चारवटा कम्पनीहरुको असार १५ अघिको नाफा एकमुुष्ट रुपमा जगेडाकोषमा हालिएका कारण यस्तो प्रगति देखिएको हो । असार १५ पछि समेत यी चारवटा कम्पनीले गरेको कुल नाफा रकम ६ करोड ६० लाख पनि जगेडाकोषमा राखिएको बैंकले जनाएको छ । 

हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ९६ करोड रहेको छ । यो बैंकले राम्रो बोनस दिएर आरामले तोकिएको समयमा ८ अर्ब चुक्तापूँजीको लक्ष्य भेट्नसक्छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी घटेर ११.७१ रुपैयाँमा झरेको देखिएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १३५.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.९२ गुणा कायम भएको छ । तर, यो इपीएस, पीई वास्तविक होइन । 

यो बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई समीक्षा अवधिमा प्राप्ति गरेको थियो । यी कम्पनीहरुलाई गाभेर कुमारी बैंकले असार १६ गतेदेखि मात्र एकीकृत कारोबार सुरु गरेको थियो । यसको अर्थ, समीक्षा अवधिको असार १५ गतेसम्म यी चार कम्पनीले आर्जन गरेको नाफा जगेडा कोषमा गाभिएको छ । यहीकारण समेत कुमारीको नाफा घटेको देखिएको हो । किनभने चारैवटा संस्थाले कमाएका करिब २८ करोड नाफा रिजर्बमा लगिएको छ । यदि यो नाफा पनि जोडेर हेर्ने हो भने कुमारी बैंकको प्रतिसेयर आम्दानी अझ माथि हुनेछ । यो हिसाबले चारवटा संस्थासहितको नाफा जोड्दा कुमारीको कुल मुनाफा ९८ करोडको हाराहारीमा पुुग्छ । हाल ६ अर्ब २६ करोड चुक्तापूँजी रहेको छ । यो हिसाबले कुमारी बैंकको वास्तविक इपीएस १६ रुपैयाँको हाराहारी हुन आउँछ । 

(कुमारी बैंकको नाफा र इपीएसको बिषयमा यसअघि प्रकाशित समाचारमा भूलवश इपीएस र नाफा नै बढी लेखिन गएकोमा क्षमाप्रार्थी छौ । सम्पादक)