सेयर लगानी गर्नुभएको छ ? छ भने तपाईंका दिन फिर्दैछन् । कारण, यो बैंकले पूँजी वृद्धिको उद्देश्यले ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तसम्म वाणिज्य बैंकहरुले ८ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने सीमा तोकेको छ । सोही अवधिमा तोकिएको चुक्तापूँजी पुर्याउने उद्देश्यले कृषि विकास बैंकले आफैं पूँजी वृद्धिको बाटो रोज्दै ५० प्रतिशत हकप्रदको प्रस्ताव पेश गरेको हो । 

हाल यो बैंकको चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको ५० प्रतिशत हकप्रद स्वीकृत भएमा लगानीकर्ताले २ बराबर १ को अनुपातमा सेयर पाउनेछन् भने चुक्तापूँजीमा १ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी रकम थपिनेछ । यसको अर्थ कृषि विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यका कुल १ करोड ९६ लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । 

धितोपत्र बोर्डका एक अधिकारीका  अनुसार कृषि विकास बैंकले दिएको आवेदन दुई साताभित्रै स्वीकृति हुने संभावना अधिक छ । यसको अर्थ कृषि विकास बैंकले ५० प्रतिशत हकप्रद आफ्ना सेयरधनीलाई ‘दशैंतिहार उपहार’को रुपमा दिने संभावना बलियो छ । ‘दशैंअघिदेखि नै हकप्रद निश्कासनको काम हुने संभावना बढी छ ।’ बैंकका एक अधिकारीले भने–‘हामी हाम्रा लगानीकर्तालाई दशैंतिहारको अवसरमा हकप्रदको विशेष उपहार दिन चाहन्छौ ।’ 

यो बैंकले आर्थिक वर्ष २०७२/७३ को अवधिमा २ अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको थियो । यो बैंकले यो अवधिमा प्रति शेयर आम्दानी ५५ रुपैयाँ ६४ पैसाको उचाईमा पुर्याई राम्रो प्रगति भएको देखाइसकेको छ । प्रति शेयर नेटवर्थ ३०३ रुपैयाँ कायम भएको बैंकको पूँजी कोष १२.८४ प्रतिशत रहेको छ । बैंकले ०७१/७२ को तुलनामा ०७२/७३ मा निस्क्रिय कर्जा अनुपात ३.८५ प्रतिशतमा झारेको छ ।

बैंकले अघिल्लो वर्ष आर्थिक वर्ष ०७१/७२ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत सेयर लाभांश बाँडेको थियो । 

कृषि विकास बैंकको सेप्टेम्बर ११ को अन्तिम सेयर बिक्री मूल्य प्रति कित्ता १०५० रुपैयाँ रहेको छ । राम्रो सेयर मूल्य भएका कारण समेत सेयरधनीहरुले १ सय रुपैयाँ अंकित मूल्यमै हकप्रद पाउँदा मालामाल हुने अवस्था हुन्छ ।