काठमाण्डौ । नेपाल राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बुधबार कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन्।

निरौला अर्थ मन्त्रालयको निर्णयबाट बिहान कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका थिए। मन्त्रालयबाट सञ्चालकमा नियुक्त भएपछि बसेको कृषि विकास बैंकको सञ्चालक समितिको बैठकबाट निरौला अध्यक्षमा चयन भएका हुन्। 

अध्यक्षमा चयन भएसँगै निरौलालाई गभर्नर डा चिरञ्जीवी नेपालले पद तथा गोपनीयताको शपथ खुवाएका छन्। 

निरौला हालै नेपाल राष्ट्र बैंकबाट अवकाश भएका हुन्। अवकाश हुनुअघि उनी राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशकसँगै बैंकका प्रवक्ता पनि थिए। उनी राष्ट्रबैंकको व्यवस्थापन समितिका सदस्य पनि थिए। 

निरौलासँग राष्ट्रबैंको बैंक सुपरिवेक्षण र नियमन विभागको लामो अनुभव छ।

अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौलाले राष्ट्र बैंकको नोट विभागमा सहायक मुद्रा अधिकृतका रुपमा २०४६ माघ ८ गतेबाट सेवा थालेका थिए । उनी २०५७ माघ २४ गते निरीक्षण तथा सुपरिवेक्ष विभागमा उपनिर्देशकमा बढुवा भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जनशक्ति व्यवस्थापन विभाग, अनुसन्धान विभाग र पा.व.स मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा उपनिर्देशकका रुपमा उनले काम गरे। 

निरौलाले नेपाल बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंकमा व्यवस्थापन समूहको संयोजकका रुपमा पनि काम गरेको अनुभव रहेको छ। उनले राष्ट्रबैंकअन्तर्गतको बैंक सुपरिवेक्षण विभाग, जनशक्ति व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, विकास बैंक विभागमा निर्देशकका रुपमा पनि काम गरे। 

बैंक सुुपरिवेक्षण विभाग, सामान्य सेवा विभाग, मुद्रा व्यवस्थापन विभागमा कार्यकारी निर्देशकका रुपमा काम गरेका निरौला २०७६ वैशाख २९ गते राष्ट्रबैंकका प्रवक्ता तथा सूचना अधिकारीका रुपमा नियुक्त भएका थिए । 

निरौलाले गत माघ १० गते ३० वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाएका थिए।