काठमाण्डौ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल उपाध्याय नियुक्त भएका छन् । 

बैंक संचालक समितिको बैठकले छनौट समितिको सिफारिस अनुसार बैंकको पूर्व डिजिएम समेत रहेका उपाध्यायलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त गर्ने निर्णय गरेको हो । 

बैंकका प्रवक्ता हिमलाल पौडेलका अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि पहिलो चरणमा छनौट भएका अनिल उपाध्याय, कपीलमणि ज्ञवाली, पूर्णप्रसाद आचार्य, नरेशकुमार रोक्का र शंकर रायमाझीमध्ये बैंक संचालन कार्ययोजनाका आधारमा उपाध्यायलाई सीइओ बनाउने संचालन समितिले निर्णय गरेको हो । 

नवनियुक्त सीइओ उपाध्यायले यसअघि कृषि विकास बैंकको विभिन्न विभाग र तहमा बसेर काम गरेका थिए । डिजिएमको रुपमा काम गरेपछि उनले बैंक छाडेका थिए । 

कृषि विकास बैंकको नयाँ सीइओको छनौट खुल्ला प्रतिस्पर्धाबाट गर्ने भन्दै सरकारले आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालको संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरेको थियो । समितिका सदस्यमा बैंकका सञ्चालक घनाश्याम अवस्थी तथा विज्ञ गेहनाथ गौतम सदस्य रहेका थिए ।

सीइओका लागि दरखास्त आह्वान गर्दा १७ जनाले बैंक संचालनको कार्ययोजनासहित आवेदन दिएका थिए । तीमध्येबाट छनौट समिति ५ जनाको नाम संचालक समितिलाई सिफारिस गरेको थियो । 

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाको कार्यकाल मंसिर २७ गतेदेखि सकिएपछि बैंक सीइओविहीन अवस्थामा छ ।