काठमाण्डौ । कृषि विकास बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब दोब्बरले राइट ब्याक गरे पनि बैंकको ब्याज खर्चमा सन्तुलन कायम नभएपछि नाफामा पहिरो गएको हो । 

सोमबार सार्वजनिक बित्तीय विवरण अनुसार कृषि विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ३९ लाख मात्र नाफा कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा ४२ करोड २३ लाख रुपैयाँ रहेको थियो । 

ब्याज खर्च धान्न नसक्दा खूद ब्याज आम्दानी घटेको छ । अघिल्लो वर्ष १ अर्ब ६१ करोड रहेको यस्तो आम्दानी घटेर समीक्षा अवधिमा १ अर्ब १४ करोडमा सीमित बन्न पुुगेको छ । गत वर्षको यही अवधिमा बैंकको व्याज खर्च ९९ करोड ११ लाख रुपैंया रहेकोमा अहिले बढेर १ अर्ब ७८ करोड पुुगेको छ । 

यो अवधिमा बैंकले ९९ अर्ब ३० करोड निक्षेप संकलन गरी ८८ अर्ब २० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ८५ अर्ब ६६ करोड निक्षेप संकलन गरी ८१ अर्ब १३ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३० करोड ५० लाख रहेको संचालन मुनाफामा रहेको कृषि विकास बैंक समीक्षा अवधिमा ६ करोड ८७ लाख संचालन नोक्सानीमा गएको छ । 

समीक्षा अवधिमा बैंकले ३.८३ प्रतिशत रहेको निस्क्रिय कर्जालाई घटाएर ३.५४ प्रतिशतमा झारेको छ । 

अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा ८० प्रतिशतले चुक्तापूँजी वृद्धि गरेको बैंकले बढेको पूँजी अनुसार नाफा कमाउन नसक्दा र व्यवसाय बिस्तार गर्न नसक्दा प्रतिसेयर आम्दानीमा भने पहिरो व्यहोरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४२ रुपैयाँ ९१ पैसा रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर समीक्षा अवधिमा २० रुपैयाँ ५४ पैसा कायम भएको छ। 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४४.३९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.१६ गुणा कायम भएको छ ।