 
                     
                                
                             
                                    काठमाण्डौ। श्रीलंकाको आर्थिक संकटमा यतिबेला विश्वको ध्यान केन्द्रित रहेको छ।
श्रीलंकामा अहिले इन्धन र औषधिको चरम अभाव भएको छ। अन्य अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ।
आर्थिक संकटका कारण श्रीलंकाको राजनीतिमा धेरै उथलपुथल भइरहेको छ। नवनियुक्त अर्थमन्त्री अली साब्रीले देशको अवस्था सुधार्न केही महत्वपूर्ण विषयमा विशेष ध्यान दिन जरुरी रहेको औँल्याएका छन्।
३ बिलियन सहयोग आवश्यक
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार अर्थमन्त्री साब्रीले इन्धन र औषधिको आपूर्तिलाई व्यवस्थित गर्न र अभूतपूर्व आर्थिक संकट व्यवस्थापन गर्न आगामी ६ महिनामा करिब ३ अर्ब डलर आवश्यक पर्ने बताएका छन्।
यो गाह्रो काम हो : साब्री
साब्रीले गत हप्तामात्रै श्रीलंकाको अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। अर्थमन्त्रीका रुपमा आफ्नो पहिलो अन्तर्वार्तामा साब्रीले ३ बिलियन डलरको कोष जुटाउने विषयमा भनेका थिए, ‘यो गाह्रो काम हो।’
यी प्रयासमा श्रीलंका अग्रसर
दक्षिण एसियाको यो टापु राष्ट्रले अन्तर्राष्ट्रिय सार्वभौम बन्धनको पुनर्संरचना गर्ने प्रयास गरिरहेको छ र ऋण भुक्तानीको समयावधि केही समयका लागि स्थगित वा लम्बाउन चाहन्छ। श्रीलंका आउँदो जुलाईसम्म १ अर्ब डलरको भुक्तानीमा बन्डहोल्डर्सहरुसँग सार्थक छलफल हुनेमा विश्वस्त देखिन्छ।
यसैगरी यसै महिना आर्थिक सहयोगका विषयमा श्रीलंका र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्ता गर्न तयार छ।
यी हुन् श्रीलंका सरकारको प्राथमिकता
श्रीलंका सरकारको प्राथमिकता इन्धन, ग्यास, औषधि र त्यसपछि विद्युतको सामान्य आपूर्ति सुरु गर्नु रहेको साब्री बताउँछन्। यसको उद्देश्य जनताको आक्रोशलाई शान्त पार्नु हो।
जनतामा चर्को आक्रोश
लामो समयसम्म विद्युत् कटौती र औषधि र इन्धनको अभावका कारण श्रीलंकाका २.२ करोड जनता आक्रोशित छन्। आक्रोशित जनताले राष्ट्रपति गोताभाया राजापक्षेको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन्। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19