काठमाण्डौ । कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ९ करोड ७२ लाखमा सीमित थियो ।

बैंकले संचालन मुनाफातर्फ भने ९८ प्रतिशत भन्दा बढीको छलाङ मारेको छ । अघिल्लो वर्ष ८ करोड ६४ लाखमा सीमित संचालन मुनाफा बढेर १७ करोड १३ लाखको उचाईमा पुगेको छ । 

बैंकको व्यवसाय बिस्तार भएका कारण खूद ब्याज आम्दानीतर्फ निकै राम्रो वृद्धि भएको छ । अघिल्लो वर्ष १५ करोड ४५ लाख रहेको यस्तो आम्दानी बढेर २६ करोड ७० लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले २४ अर्ब २५ करोड निक्षेप संकलन गरी २० अर्ब ९२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १८ अर्ब ६९ करोड निक्षेप संकलन गरी १५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्ष १ अर्ब ८ करोडमा सीमित रिजर्ब कोष बढेर १ अर्ब २० करोडको उचाईमा पुगेको छ । 

बैंकको अघिल्लो वर्ष यही अवधिमा ०.९१ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर यो वर्ष ०.३ प्रतिशतमा झरेको छ भने यो अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी ८.२५ प्रतिशतले बढी १८ रुपैयाँ ३८ पैसा, प्रतिसेयर नेटवर्थ १४७.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.९२ गुणा कायम भएको छ ।