काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा बैंकहरुको ब्याजदर ह्वात्तै घटेको देखिएको छ । 

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको आर्थिक तथा वित्तीय समीक्षा रिपोर्टमा यस्तो देखिएको हो । 

असार महिनाको मसान्तमा बैंकहरुको आधार दर वर्षकै सबैभन्दा न्यून देखिएको हो । 

वाणिज्य बैंकहरुको असारसम्मको औसत आधार दर ८.५० प्रतिशत कायम भएको हो । अघिल्लो वर्ष यही अवधिमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.५७ प्रतिशत रहेको थियो भने जेठ मसान्तसम्म औसत आधार दर ८.६६ प्रतिशत थियो । 

बैंकहरुले आधार दरमा प्रिमियम जोडेर ऋणिहरुलाई ब्याज लगाउने हुनाले आधार दर घटेसँगै बैंकको ब्याजदर पनि घटेको देखिएको छ । 

कोभिड १९ र संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण आर्थिक गतिविधि बन्दा बैंकहरुमा अहिले पैसा थुप्रिएको छ । जसका कारण लगानीका क्षेत्रहरु संकुचित भई साउन अन्तिमसम्म बैंकहरुको आधार दर अझै न्यून विन्दूमा झरिसकेको छ । 

समग्रमा लगानीयोग्य रकमको फालाफाल भएको अवस्थामा बैंकको ब्याजदर समेत न्यून विन्दूमा पुगेको छ । 

पछिल्ला दिनहरुमा सेयर बजारमा भइरहेको बढोत्तरीको एउटा मुख्य कारण बैंक ब्याजदरमा आएको कमी पनि हो ।