काठमाण्डौ । कोभिड–१९ महामारीबीच उद्योगव्यवसायी सञ्चालनको अवस्थामा सुधार आएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुरावृत्ति सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। कोभिड महामारीपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशतमात्र उद्योगव्यवसायहरु पूर्ण रुपमा सञ्चालनमा रहेका थिए। तर २०७८ वैशाखमा बढेर पुनः ८१.२ प्रतिशत पुगेको देखिएको प्रतिवेदनमा उल्लेख छ। 

सर्वेक्षणमा सहभागी विद्युत्, ग्यास तथा पानी र सञ्चार क्षेत्रका सतप्रतिशत उद्योगव्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको देखिएको छ । हालसम्म १४.६ प्रतिशत उद्योगव्यवसाय आंशिक रुपमा सञ्चालनमा आए पनि ४.२ प्रतिशत उद्योगयवसायहरु भने अझै सञ्चालनमा आउन नसकेको प्रतिवेदनमा जनाइएको छ। 

यसैगरी गत २०७७ असारको तुलनामा उद्योगव्यवसायको आकारअनुसार सबै प्रकारका उद्योगव्यवसायको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको देखिएको प्रतिवेदनमा जनाइएको छ। 

राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत २०७७ असारको तुलनामा उद्योगव्यवसायहरुको उत्पादन तथा कारोबारको अवस्थामा पनि सुधार आएको छ । 

कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादन तथा कारोबार रहेकोमा २०७८ बैशाखमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ६१.४ प्रतिशत पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन तथा कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुरेन्ट भने उत्पादन तथा कारोबारको स्थिति ४०.८ प्रतिशत मात्र पुगेको छ जुन अन्य व्यवसायहरुभन्दा सबैभन्दा कम हो।

गत २०७७ असारको तुलनामा उद्योगव्यवसायको आकारअनुसार पनि सबै प्रकारका उद्योगव्यवसायको उत्पादन तथा कारोबार बढेको पाइएको प्रतिवेदनमा उल्लेख छ। तर, कोभिड महामारीआउनु अगाडिको अवस्था पुगिनसकेको प्रतिवेदनमा जनाइएको छ। 

गत २०७७ असारको तुलनामा उद्योगव्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारीअगाडिको अवस्थामा भने अझै पुग्न सकेको छैन । कोभिड महामारीअगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योगव्यवसायहरुले २०७८ वैशाखमा ९३.८ प्रतिशत रोजगारी प्रदान गरेको पाइएको छ। 

मझौला तथा ठूला उद्योगव्यवसायहरुले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको देखिएको छ। पूर्ण रुपमा सञ्चालनमा रहे पनि मझौला तथा ठूला उद्योगव्यवसायहरु आफ्नो पूर्ण क्षमता उपयोग गरी सञ्चालनमा नरहेको कारण यस्ता उद्योगले प्रदान गर्ने रोजगारीको दरमा थप कटौती हुन गएको अनुमान प्रतिवेदनमा गरिएको छ। 

हाल कोभिड–१९ महामारीको दोस्रो लहरसँगै अधिकांश जिल्लाहरुमा २०७८ बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः प्रभावित हुन जाने देखिएको छ। कोभिड १९ को संक्रमण रोक्दै यथासम्भव रुपमा आर्थिक गतिविधिहरु पनि चलयामान बनाइरहनुपर्ने खाँचो प्रतिवेदनमा औँल्याइएको छ। 

‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी दोस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन’ हेर्न यहाँ क्लिक गर्नुहोस् ।