काठमाण्डौ । कोभिड १९ को संक्रमणलाई कारण देखाउँदै बैंक अफ काठमाण्डू(बीओके) लिमीटेडले वितरणयोग्य मुनाफा ऋणात्मक बनेको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । यसको अर्थ तेश्रो त्रैमासको २० दिन बैंकका लागि विषम बन्यो । तेश्रो त्रैमासको २ महिना १० दिनमा बैंकहरुले सामान्य अवस्थामै व्यापार गरेका थिए । त्यसअघिका दुईवटा त्रैमासको व्यापार समेत सामान्य नै थियो । तर, २० दिनकै कारण बैंकको वितरणयोग्य मुनाफा नै ९ करोड बढीले ऋणात्मक बनेको रिपोर्ट बीओकेले प्रकाशित गरेको हो ।

बीओकेले इम्पेयरमेन्ट चार्जेजको रुपमा ८० करोड राख्नु पर्दा वितरणयोग्य मुनाफा पहिरो गएको दाबी गरेको छ । 

तेश्रो त्रैमासिक रिपोर्ट नै नेगेटिभ आएको र कोरोना भाइरस संक्रमणको मुख्य असर चौथो त्रैमासमा परेकोले यो बैंकको यो वर्षको नाफामा अझ बढी संकुचन आउने र यो वर्षका लागि लगानीकर्ताले केही पनि लाभांश नपाउने अवस्था देखिएको छ ।  

बैंकले बुधबार प्रकाशित गरेको तेश्रो त्रैमासको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा ९ करोड ८ लाखले ऋणात्मक बन्न पुगेको छ । यस्तो मुनाफा अघिल्लो आर्थिक वर्षको यही अवधिसम्ममा ७ करोड ३३ लाख धनात्मक थियो । 

बैंकको खूद नाफा समेत अघिल्लो वर्षको यही अवधिको तुलनामा घटेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब २० करोड खूद नाफा रहेकोमा घटेर समीक्षा अवधिमा ८७ करोड ३४ लाखमा सीमित बन्न पुगेको हो । 

यस्तै, १ अर्ब ७१ करोड रहेको संचालन मुनाफामा समेत गिरावट आई १ अर्ब २३ करोडमा सीमित बन्न पुगेको रिपोर्ट प्रकाशित गरिएको छ । 

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ७३ करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष २ अर्ब ८७ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ८९ अर्ब ७७ करोड निक्षेप संकलन गरी ७८ अर्ब ७२ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप ८.५२ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह पनि ११.७० प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंकको रिटेन अर्निङ नै नेगेटिभ बन्न पुगेको छ । ८ करोड ५९ लाखले यस्तो अर्निङ नेगेटिभ बन्न पुगेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा रिटेन अर्निङमा १०६.२५ प्रतिशतको पहिरो गएको हो । 

अघिल्लो वर्ष ४ अर्ब ५२ करोडमा सीमित रिजर्बको आकार बढेर समीक्षा अवधिसम्म ५ अर्ब २० करोड पुगेको देखिएको छ । 

बैंकले खराब कर्जाको अनुपातलाई समेत राम्रै ढंगले घटाएको देखिएको छ । अघिल्लो वर्ष यही अवधिसम्म २.१२ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटेर यो वर्ष १.५३ प्रतिशतमा सीमित बन्न पुगेको हो । 

कस्ट अफ फण्ड पनि अघिल्लो वर्षको तुलनामा १.२२ प्रतिशतले घटेकै छ । अघिल्लो वर्ष ७.३७ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर यो वर्ष ७.२८ प्रतिशतमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३१.६० प्रतिशतले घटेर १३.६३ रुपैयाँमा सीमित बन्न पुगेको छ भने प्रतिसेयर नेटवर्थ समेत ७.६७ प्रतिशतले घटेर १५९.९२ रुपैयाँ, पीई अनुपात १६ गुणा कायम भएको छ ।