काठमाण्डौ । प्राणघात कोरोनाभाइरस महामारीका रुपमा फैलिएको चीनमा एप्पल कम्पनीले आफ्ना सम्पूर्ण स्टोर्स अस्थायी रुपमा बन्द गरेको छ ।

एप्पलले चीनमा रहेका सबै ४२ वटा स्टोर्सहरु फेब्रुअरी १४ तारिखसम्मका लागि अस्थायी रुपमा बन्द गरेको हो । ‘चीनमा देखिएको कोरोनाभाइरसको महामारी र त्यसबाट बच्न स्वास्थ्य विज्ञहरुको सुझावका आधारमा चीनमा रहेका हाम्रा कर्पोरेट अफिस, स्टोर्स र सम्पर्क केन्द्रहरु बन्द गर्ने निर्णय गर्यौँ’, एप्पलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामीले अहिले चीनमा देखिएको परिस्थितिको लगातार नजर लगाइरहेका छौँ, परिस्थिति अनुकूल बन्नासाथ छिटै हामी आफ्ना सम्पूर्ण स्टोर्सहरु खुला गर्ने छौँ ।’

एप्पलका सीईओ टिम कुकका अनुसार चीनस्थित स्टोर्सहरुमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ । उनका अनुसार चीनमा रहेका स्टार्सहरु बन्द गर्दा अवश्य पनि कम्पनीहरुलाई नकारात्मक पर्नेछ । किनकि एप्पलको कुल कारोबारमध्ये १५ प्रतिशत हिस्सा चीनमा हुने गरेको छ ।

कोरोनाभाइरसबाट हालसम्म विश्वभर १२ हजार मानिसहरु संक्रमित भइसकेका छन् । तीमध्ये ११ हजार ८०० जना संक्रमित चीनमा रहेका छन् । 

हालसम्म यो भाइरसबाट चीनबाहेक अन्य २६ मुलुकमा देखिएको छ । यो भइरसबाट बच्न बेइजिङका मुख्य सहरहरुमा बसोबास गर्ने लाखौँ मानिस घरबाहिर निस्कन सकेका छैनन् । उनीहरुले चिनियाँ नयाँ वर्षको बिदा पनि लम्बाइरहेका छन् । – एजेन्सी