काठमाण्डौ । कोरोना महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुल सम्पत्ति करिब ६ सय मिलियन डलरभन्दा धेरैले घटेको छ।

कोरोना महामारी र आर्थिक मन्दीका कारण यो वर्ष ट्रम्पले होल्ड गरेको सम्पत्तिको मूल्य घटेको फोब्र्सले जनाएको हो। फोब्र्सले वार्षिक रुपमा जारी गर्ने अमेरिकाका ४ सय धनाढ्यको सूचीमा ट्रम्पको करिब २.५ बिलियन डलरको सम्पत्ति रहेको खुलेको छ। 

फोब्र्सको रिपोर्टका अनुसार गत वर्षको तुलनामा ६४ स्थान तल झर्दै उनी अमेरिकाको ३३९ औँ धनाढ्यको सूचीमा रहेका छन्। सन् २०१९ यता ट्रम्पको सम्पत्ति २० प्रतिशतले घटेको छ। 

रिपोर्टमा ट्रम्पको सम्पत्तिमा गिरावट आउनुको मुख्य कारण कोरोना महामारी भएको उल्लेख छ। कोरोना महामारीका कारण जारी लकडाउनका कारण ट्रम्पको अफिस बिल्डिङ, होटेलहरु र विशेषगरी ठूला सहरहरुमा उनको ठूला होल्डिङहरुको मूल्यम गिरावट आएको छ। 

राष्ट्रपतिको सबैभन्दा ठूलो घाटा एक वर्षअघिको अवधिको तुलनामा न्युयोर्क सहरको एक कार्यालय र रिटेल स्पेसमा उनको ३० प्रतिशत स्वामित्व रहेको १२९० एभिन्यु अफ अमेरिकामा देखिएको छ। सन् २०१९ यता यसमा उनको कुल सम्पत्तिमा १०९ मिलियन डलरको गिरावट आएको छ।  

फोब्र्सका अनुसार ट्रम्पको न्युयोर्क सहरमा रहेको विभिन्न रियल स्टेट होल्डिङ्सको मूल्य ३२६ मिलियन डलरले घटेको छ। यद्यपि सन् २०१९ यता ट्रम्प टावरको मूल्य १०९ मिलियन डलरले बढेको छ। 

न्युयोर्कभन्दा बाहिर ट्रम्पको वासिङ्टन, लस भेगास्, सान फ्रान्ससिस्को र सिकागोमा रहेको कुल सम्पत्तिको मूल्य १२४ मिलियन डलर रहेको छ। गत सेप्टेम्बर यता ट्रम्पको गल्फ र्पोपटीको मूल्य १३७ मिलियन डलरले घटेको छ। – एजेन्सी