काठमाण्डौ। विश्व महामारी कोरोना संकटबीच पनि साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको छ। 

गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ११.५४ प्रतिशतले बढेको छ। गत वर्षको चौथो त्रैमासमा संस्थाले ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ४९ करोड १५ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाको सञ्चालन मुनाफा पनि १०.४५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ७४ करोड ३८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर चौथो त्रैमासमा ८१ करोड २१ लाख रुपैयाँ भएको छ। 

संस्थाले समीक्षा अवधिमा खुद ब्याज आम्दानीबापत भने १ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष ९१ करोड ९८ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा संस्थाले १९ अर्ब ४२ करोड रुपैयाँ सापटी लिई २१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १७ अर्ब ६५ करोड रुपैयाँ सापटी लिई २० अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार ३८.३३ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष १ अर्ब ४२ करोड रुपैयाँको रिभर्जको आकार १ अर्ब ९२ करोड रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाको चुक्तापुँजी १ अर्ब रुपैयाँको रहेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको तुलनामा ११.५४ प्रतिशतले बढेर ५४.८१ रुपैयाँ भएको छ। अघिल्लो वर्ष ईपीएस ४९.१४ रुपैयाँ रहेको थियो।

पीई रेसियो २३.७४ गुणा रहेको संस्थाको प्रतिसेयर कुल नेटवर्थ २९७.३७ रुपैयाँ रहेको छ।