– रेखा चन्द

काठमाण्डौ । पछिल्लो समय डिजिटल कारोबारमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। 

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले डिजिटल कारोबारमा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको देखाएको हो। कोरोना महामारी सुुरु हुुुनुअघि डिजिटल कारोबार न्यून थियो। अहिले डिजिटल कारोबार झन्डै तेब्बरले बढेको छ। 

अहिले मानिसहरु बैंकसम्म जानुुभन्दा पनि डिजिटल कारोबारमै अभ्यस्त भइरहेको पुुष्टि राष्ट्र बैंकको तथ्यांकले गरेको छ।

राष्ट्र बैंकले पनि पछिल्लो समय नगद कारोबारभन्दा डिजिटल कारोबारलाई जोड दिँदै आएको छ। राष्ट्र बैंकले आरटीजिएस, एटीएम, ईसीसी, आईपीएस, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, वालेट, पीओएस, वालेट र ई–कमर्सबाट रकम रकमान्तर गर्न सक्ने व्यवस्था गरेको छ। ग्राहकले यी १५ वटै प्लाटर्फम प्रयोग गर्दा कारोबार तेब्बरले बढेको हो। 

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल कोभिडअघि बढीमा ९ खर्ब रुपैयाँसम्म डिजिटल कारोबार हुने गरेकोमा गत आर्थिक वर्षको असार मसान्तसम्ममा बढेर ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँ पुगेको बताउँछन्। ‘आर्थिक वर्ष २०७६–७७ मा २७ खर्ब ६५ अर्ब ६४ करोड रुपैयाँ भएकोमा बढेर आर्थिक वर्ष २०७७–७८ को असार मसान्तसम्ममा ५२ खर्ब ६६ अर्ब ६७ करोड रुपैयाँ डिजिटल कारोबार भएको थियो’, उनले भने, ‘आर्थिक वर्ष २०७६–७७ को तुुलनामा आर्थिक वर्ष २०७८–७९ मा ३५ खर्बले डिजिटल कारोबारको दायरा बढेको छ।’

सकेसम्म नोटको प्रयोगलाई शून्यप्रायः बनाउन भन्ने पक्षमा केन्द्रीय बैंक रहेको छ। सबै ठाउँ इन्टरनेटको पहुँच नपुुगेका कारण अहिले नै नोट विस्थापित हुने अवस्था छैन। तर, झन्झटरहित कारोबार भएकाले विस्तार मानिसहरु यसतर्फ आकर्षित भइरहेका छन्।

आमसर्वसाधारणले नगदभन्दा पनि डिजिटल भुक्तानीलाई अझै जोड दिनुुपर्ने सहप्रवक्ता पोखरेल बताउँछन्। ‘नेपालमा कोभिड सुुरु हुुनुुभन्दाअघि डिजिटल कारोबार एकदमै थोरै थियो तर कोभिडपछि अहिलेसम्म आउँदा यस्तो कारोबार धेरै बढेको छ’, उनले भने, ‘तर, पनि सर्वसाधारणले नगदभन्दा पनि डिजिटल कारोबारलाई नै जोड दिऊन् भन्ने हो।’ 

सहप्रवक्ता पोखरेलले डिजिटल कारोबारलाई प्राथमिकता दिँदा नोटको आयुु बढ्ने, नोट छाप्दा कम खर्च हुने र सर्वसाधारण स्वयंलाई सहज हुने बताए।

राष्ट्र बैंकको तथ्यांकअनुुसार गत आर्थिक वर्षमा १५ डिजिटल फर्ममार्फत ७ करोड १४ लाख २६ हजार ७३० पटकमा ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ। यस्तै आर्थिक वर्ष २०७७–७८ मा कुुल ४ करोड ५ लाख ४५ हजार ४ पटक डिजिटल कारोबार भएकोमा आर्थिक वर्ष २०७६–७७ मा भने २ करोड ९० लाख ६८ हजार ६५६ पटक भएको छ। गत आर्थिक वर्ष सबैभन्दा धेरै मोबाइल बैंकिङमार्फत २ करोड ५ लाख ६४ हजार ३०८ पटक कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ।

त्यसैगरी वालेटबाट १ करोड ६२ लाख ६ हजार ३५६, डेबिट कार्डबाट १ करोड ११ लाख २७ हजार ६८३, एटिएममार्फत १ करोड १ लाख ६९ हजार ३३१ पटक भुुक्तानी भएको छ। अन्यबाट भने १ करोडभन्दा कम पटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। 

त्यसैगरी गत आर्थिक वर्षको असार मसान्तसम्म आरटीजीएसबाट सबैभन्दा बढी ४३ खर्ब ४९ अर्ब रुपैयाँको कारोबार भएको छ। इलेक्ट्रानिक चेक क्लियरिङ (ईसीसी)मार्फत ८ खर्ब ५० अर्ब रुपैयाँबराबरको डिजिटल कारोबार भएकोमा कन्टेक्ट आईपीएसबाट ३ खर्ब ६९ अर्ब रुपैयाँ, आईपीएसमार्फत २ खर्ब ७५ अर्ब रुपैयाँ, मोबाइल बैंकिङमार्फत १ खर्ब ६३ अर्ब रुपैयाँबराबरको डिजिटल कारोबार भएको छ।

नेपालीको महान पर्व दसैँ, तिहार, छठजस्ता पर्वहरु नजिकिरहेका छन्। दसैँ सुरु हुन अब धेरै दिन पनि छैन। चाडपर्वलक्षित आर्थिक गतिविधि बढिरहेको छ। 

यसैबीच राष्ट्र बैंकले पनि नयाँ नोट केही दिनपछि सर्वसाधारणलाई वितरण गर्ने भएको छ। दसैँमा नयाँ नोट विशेष मानिने हुुनाले मानिसहरु ठूुलो परिमाणमा नयाँ नोट सटही गर्ने गर्दछन्। तर राष्ट्र बैंकले भने चाडपर्वमा पनि डिजिटल दक्षिणालाई प्रोत्साहन दिर्नुुपर्ने बताउँदै आएको छ।

हेर्नुहोस् विस्तृत विवरणः