काठमाण्डौ । एनआईसी एशिया बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने क्यूआर रेफर एण्ड अर्न योजना ल्याएको छ ।

यो बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले २०७७ भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्ने बैंकले प्रष्ट्याएको छ । यो योजनामा बैंकसँग रहेका क्यूआर मर्चेन्ट तथा ग्राहकले २ महिनाको अवधिमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी उक्त नयाँ क्यूआर मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर क्यूआरमा आबद्ध भएमा रिफर गर्ने क्यूआर मर्चेन्ट एवं ग्राहकलाई बैंकले प्रतिरिफर मर्चेन्ट रू. ७५० खुद रकम प्रदान गर्नेछ । साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यूआर मर्चेन्टहरु बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही रू. ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्यूआर पेमेन्टबाट भुक्तानी गर्नेहरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको डिजीटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकलाई नगदरहित अर्थतन्त्र बनाउन सहयोग पुर्याउन यस योजनालाई बैंकले अगाडि बढाएको दाबी गरेको छ । 

बैंकले हालसम्म देशभर १५ हजारभन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।