काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न खप्तड लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाले एकैदिन विशेष वार्षिक साधारणसभा आह्वान गरेका छन्।

दुवै लघुवित्तले आउँदो चैत ६ गते विशेष साधारणसभा डाकेका हुन्। खप्तडको सभा अत्तरियास्थित होटेल नमस्तेमा र धौलागिरी लघुवित्तको बागलुङको बागलुङ–४ उपल्लाचौरमा रहेको डीसीआरडीसीको सभा हलमा बिहान १० बजेबाट हुनेछन्। 

सभामा दुवै लघुवित्तले आपसमा मर्जर प्रक्रिया स्वीकृत गर्नेछन्। सेयर स्वाप अनुपात मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गर्ने विशेष प्रस्ताव पनि दुवै सभाले अनुमोदन गर्नेछन्। 

दुवै सभाले डीडीए रिपोर्ट, मर्जर गर्ने सम्बन्धमा गठित संयुक्त मर्जर समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका कामकारबाही र खर्च अनुमोदन तथा अन्तिम सम्झौतापत्र स्वीकृत गर्नेछन्। 

मर्जर प्रक्रिया सम्पन्न गर्न सञ्चालक समितिलाई अख्तियारी दिने स्वीकृति पनि दुवै सभाले गर्नेछन्।