काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ८ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १५ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म संस्थालाई ८ करोड ३४ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २० करोड ६९ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ३१.३२ प्रतिशतले घटेर ३६ करोड ५९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ५३ करोड ४३ लाख रुपैयाँ थियो। 

चुक्तापुँजी ४४ करोड १६ लाख रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म ३ अर्ब २ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले २ अर्ब ५५ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ७० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाको रिजर्भको आकार ०.६७ प्रतिशतले बढेर २१ करोड ५४ लाख रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा २१ करोड ३९ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ८.३६ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ३.२७ प्रतिशत थियो। 

खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर १३ करोड ३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ५ करोड ९८ लाख रुपैयाँ थियो। 
इम्पेयरमेन्ट चार्ज बढ्दा लक्ष्मी लघुवित्त वित्तीय सूचकहरु प्रभावित भएको देखिन्छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १८.८१ रुपैयाँले ऋणात्मक भएको छ। गत वर्ष यही अवधिसम्म ईपीएस ४१.४२ रुपैयाँ थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १७९.०१ रुपैयाँ रहेको छ।