काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएका छ। 

समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ३०.३९ प्रतिशतले घटेर ३० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष संस्थाले ४३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म संस्थाले ४३ करोड २ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ५८ करोड ७ लाख रुपैयाँ रहेको थियो। यो हिसाबले संस्थाको सञ्चालन मुनाफा पनि २५.९१ प्रतिशतले घटेको छ। 

चौथो त्रैमासम्म संस्थाको खुद ब्याज आम्दानी पनि २७.४६ प्रतिशतले घटेर १ अर्ब ९ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी १ अर्ब ५० करोड रुपैयाँ थियो। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.६४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.४३ प्रतिशतमा सीमित थियो। एनपीएल बढेसँगै संस्थाले इम्पेयरमेन्ट चार्जबापत ११ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्जबापत संस्थाले ३३ करोड १ लाख रुपैयाँ छुट्याएको थियो।

चुक्तापुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङको आकार भने २८.०९ प्रतिशतले बढेर ७५ करोड ६२ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ५९ करोड ४ लाख रुपैयाँ थियो। 

चौथो त्रैमाससम्म संस्थाले १३ अर्ब ७० करोड रुपैयाँ सापटी लिई १८ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १६ अर्ब २३ करोड रुपैयाँ सापटी लिई २१ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १७.२५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २४.७८ रुपैयाँ थियो। संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४२.२६ गुणा र प्रतिसेयर नेटवर्थ १४३.४८ रुपैयाँ रहेको छ। 

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त हालै १ः०.८७ अनुपातमा मर्ज भएका थिए।