काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.७६ प्रतिशतले कम हो। अघिल्लो वर्ष संस्थाले ५५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएस १.०३ प्रतिशतमा सीमित थियो। 

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ३३.३० प्रतिशतले घटेर ५३ करोड १३ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७९ करोड ६५ लाख रुपैयाँ भएको थियो। 

चौथो त्रैमाससम्म संस्थाले १ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ३७ करोड रुपैयाँ थियो। खुद ब्याज आम्दानी पनि ९.२८ प्रतिशतले घटेको छ। 

खराब कर्जा बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर १० कराड ६५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ५३ लाख ६३ हजार रुपैयाँ थियो। 

इम्पेयरमेन्ट चार्ज बढ्नु र सञ्चालन मुनाफा तथा ब्याज आम्दानी घट्नुले डिप्रोक्स लघुवित्तको नाफा प्रभावित भएको देखिन्छ।

चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ६६ करोड २१ लाख रुपैयाँ रहेको छ। संस्थाको चुक्तापुँजी १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। यो हिसाबले संस्थाको ४२ प्रतिशत बढी लाभांश क्षमता देखिन्छ।

समीक्षा वर्षमा संस्थाले ९ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ७ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ३२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको रिजर्भको आकार १२.१५ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३ करोड रुपैयाँ थियो। 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २३.९८ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ३८.७३ रुपैयाँ थियो। पीई रेसियो ३४.४५ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २१७.८७ रुपैयाँ रहेको छ।