काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कुनै बेला नामै मात्र काफी थियो । यो बैंकले विगतमा लगानीकर्तालाई दिने गरेको उच्च प्रतिफलले समेत यसको सेयर खरीदमा राम्रै चाप हुन्थ्यो । यसैका कारण सेयर मूल्य बढेर निकै माथि पुग्यो । तर अब यो बैंकको पछिल्लो सेयर मूल्य ३ हजार ३ सय ४५ रुपैयाँमा सीमित बन्न पुगेको छ । अब यो बैंकको सेयरलाई ३ हजार नै मूल्य हालेर पनि कसैले किन्न खोज्दैछ भने त्यो मूर्खता बाहेक केही हुनेछैन । कारण, यो बैंक बित्तीय रुपमा यति भद्रगोल भइसक्यो कि, अन्य वाणिज्य बैंकको तुलनामा यो बैंक निकै पछाडि धकेलिएको छ । बित्तीय स्वस्थता मापन गर्ने अधिकांश सूचकहरु नकारात्मक भएका छन् भने यसले  भोलिका दिनमा लगानीकर्तालाई उच्च प्रतिफल दिने आशा पनि हराएको छ । यसकारण यो बैंकको नामको मात्र पछि लागेर कसैले महंगो मूल्यमा सेयर किन्दैछ भने त्यो भूल नगर्दा नै वेश हुन्छ । 

यो बैंकको आर्थिक वर्ष २०७२/७३ को तेश्रो त्रैमासिक रिपोर्टले समेत निकै खराब नतिजा निकालेको थियो । सो अवधिमा खुद नाफा अघिल्लो आ.ब.को सोही अवधिको तुलनामा ५.३१ प्रतिशतले घटेर ९० करोड ६७ लाख रुपैयाँमा झरेको थियो ।

बित्तीय स्वस्थता मापन गर्ने अधिकांश सूचकहरु नकारात्मक भएका छन् भने यसले  भोलिका दिनमा लगानीकर्तालाई उच्च प्रतिफल दिने आशा पनि हराएको छ ।

बैंकको ब्याज आम्दानी र संचालन नाफा पनि घटेको थियो । कर्जा प्रवाह घटेसँगै निस्क्रिय कर्जा पनि बढेको थियो । तेश्रो त्रैमास अवधिमा अघिल्लो आ.ब.को सोही अवधिको तुलनामा प्रति शेयर आम्दानी पनि घटेको थियो । मूल्य आम्दानी अनुपात पनि ३४.४९ बाट ५९.४७ मा पुगेको थियो । तेश्रो त्रैमासमै यति खराब नतिजा निकालेर लगानीकर्तालाई निराश बनाएको यो बैंकले चौथो त्रैमासमा सुधारको केही प्रयास गर्ला कि भन्ने झिनो आशा थियो । अन्ततः अब यो आशा पनि तुहियो । चौथो त्रैमासको रिपोर्ट त अझ खराब निस्कियो, जसको अर्थ हो अब स्ट्याण्डर्ड चार्टर्ड बैंकमा केही वर्षसम्म लगानी नगर्नु नै बुद्धिमानी ठहरिनेछ । 

स्ट्याण्डर्ड चार्टर्डले अघिल्लो आर्थिक बर्षमा एक अर्ब २९ करोड खुद नाफा गरेकोमा गत बर्ष जम्मा एक अर्ब २६ करोड मात्र कमायो । यसको प्रतिसेयर आम्दानी पनि घटेर ५७ बाट ४५ रुपैयाँमा झरेको छ । ब्याज आम्दानी र संचालन मुनाफामै गिरावट आएपछि स्ट्याण्डर्ड चार्टर्डले मुख्य व्यापारलाई नै संकुचन गरेको देखिन्छ । व्यापारलाई खुम्च्याएको बैंकले राम्रो प्रतिफल के आधारमा दिनसक्छ ?

प्रतिसेयर आम्दानी पनि घटेर ५७ बाट ४५ रुपैयाँमा झरेको छ । ब्याज आम्दानी र संचालन मुनाफामै गिरावट आएपछि स्ट्याण्डर्ड चार्टर्डले मुख्य व्यापारलाई नै संकुचन गरेको देखिन्छ । व्यापारलाई खुम्च्याएको बैंकले राम्रो प्रतिफल के आधारमा दिनसक्छ ?

विदेशी लगानीको बैंक भएकोले विदेशी मुद्राको कारोबार राम्रो होला भन्ने ठानियो भने त्यो पनि गलत हुनेछ, कारण यो शीर्षकमा पनि खासै प्रगति छैन । बैंकले निस्क्रिय कर्जा अनुपात सामान्य रुपमा मात्र घटाउन सकेको देखिन्छ । 

चौथो त्रैमासको बित्तीय विवरण हेर्दा बैंक हरेक पक्षमा असफल बन्दै गएको प्रतित हुन्छ । निक्षेप संकलन र कर्जा बिस्तार दुवैमा प्रगति छैन । यो बैंकको चुक्तापूँजी २ अर्ब ८१ करोड छ । जगेडा कोषमा ४ अर्ब ४० करोड रुपैयाँ छ । 

यो बैंकले हालसम्म राष्ट्रबैंकको पूँजीवृद्धिको योजना अनुसार कुन बाटोबाट ८ अर्ब पूँजी पुर्याउने भन्ने स्पष्ट खाका समेत सार्वजनिक गर्न सकेको छैन । पूँजीवृद्धि योजनाको सुरुवातदेखि नै विरोध गर्दै आएको यो बैंकका मुख्य लगानीकर्ताले नेपालबाट हिँड्नेसम्मको धम्की दिएर राष्ट्रबैंकलाई गलाउने दुस्प्रयास गरेका थिए, तर त्यो संभव भएन । राष्ट्रबैंकलाई गलाएर आफ्नो स्वार्थ पूर्ति गर्न नसक्दा यो बैंकको नाफा, व्यापार, प्रति सेयर आम्दानी, मूल्य-आम्दानी अनुपात लगायतका सबै मुख्य आर्थिक(प्रगतिका) सूचकमा नराम्रोसँग पहिरो गएको देखिन्छ । 

अन्य बित्तीय संस्थालाई समेत मर्जर गर्न वा गाभ्ने चासो नदेखाएको यो बैंकले ठूलो संख्यामा हकप्रद सेयर जारी गर्नसक्ने संभावना चाहि छ । तर यसो हुँदा पनि प्रति सेयर आम्दानीतर्फ खासै प्रगति हुँदैन । २ अर्ब ८१ करोड चुक्तापूँजी हुँदा नै प्रति सेयर आम्दानी घट्दो अवस्थामा छ भने यो बैंकले हकप्रदबाटै ८ अर्ब पुर्याएको अवस्थामा प्रति सेयर आम्दानी तल झरेर कुन विन्दूमा पुग्ला, आफैं सोच्न सकिन्छ । यस्तो जोखिमपूर्ण अवस्थामा लगानीकर्ताले यो बैंकको सेयरमा लगानी नगर्दा नै बेस हुन्छ । 

यो बैंकको चौथो त्रैमासको बित्तीय विवरणअनुसार तेश्रो त्रैमासको भन्दा मूल्य आम्दानी अनुपात(पीई रेसियो) बढेर ८० गुणा भन्दा बढीको विन्दुमा पुगेको छ । पीई रेसियो यति धेरै हुनु भनेको सम्बद्ध संस्था बित्तीय रुपमा निकै धराप अवस्थामा पुगेको स्पष्ट संकेत हो । कारण पीई रेसियो १० गुणाको हाराहारीमा हुनुलाई राम्रो मानिन्छ । जति यो अनुपात कम भयो, उति सम्बद्ध कम्पनीको सेयर लगानीका लागि योग्य हुने सामान्य मान्यताका आधारमा समेत यसको प्रति कित्ता सेयरलाई ३ हजार बढी मूल्य हालेर कसैले किन्नु उसले सिधै टाट पल्टिने बाटो रोज्नु हो भन्दा अत्युक्ति नहोला । 

क्रमागत रुपमा पूँजीवृद्धिका लागि विभिन्न प्रयास गर्नुको साटो यो बैंकले  विगतमा नगद लाभांश घोषणा गरेर नेपालमा कमाएको पैसा विदेश लैजानै पटक पटक प्रयास गरेको थियो । 

अत्यन्त धराप अवस्थामा रहेको यो बैंकले भोलिका दिनमा लगानीकर्ताका लागि ठूलै संख्यामा हकप्रद, बोनस सेयर दिने घोषणा नै गर्यो भने पनि तत्काल यसको सेयरमा लगानी नगर्नु उचित हुने विज्ञहरुको सुझाव छ । 

किन अटेर गरिरहेको छ ?
राष्ट्रबैंकको पूँजी वृद्धि योजनाको सुरुवातदेखि नै विरोध गरेर नेपालबाटै बाहिरिनेसम्मको चेतावनी दिंदै आएको विदेशी साझेदारीमा संचालित स्ट्याण्डर्ड चार्टर्ड बैंकले लामो समयसम्म अटेर गर्दा पनि ऊमाथि कुनै कारबाही हुन सकेको छैन । लगानीकर्तालाई यो वा त्यो बाहानामा  पटक पटक जिल्याउँदै आएको यो बैंकले अहिलेसम्म पूँजी वृद्धिको योजना नै सार्वजनिक नगर्नु हदैसम्मको हेपाहा प्रवृति रहेको राष्ट्रबैंकका एक कार्यकारी निर्देशक बताउँछन । 

८ बर्ष अघि ८५०० रुपैयाँ प्रति कित्ता मूल्यमा यो बैंकको शेयर किन्ने हामीलाई अहिले दलदलमा फसेजस्तो महसुस हुन्छ । अब पनि कसैले विदेशी साझेदार र व्यवस्थापनको बैंक भनेर मात्र यो बैंकमा लगानी गर्न थाल्ने हो भने डूब्नुको अर्को विकल्पै छैन ।

क्रमागत रुपमा पूँजीवृद्धिका लागि विभिन्न प्रयास गर्नुको साटो यो बैंकले  विगतमा नगद लाभांश घोषणा गरेर नेपालमा कमाएको पैसा विदेश लैजानै पटक पटक प्रयास गरेको थियो । नेपालमा कमाएको पैसा विदेश लैजाने हतारो देखाएको बैंकलाई राष्ट्रबैंकका गभर्नरले पूँजीवृद्धिको स्पष्ट खाका ल्याउन किन दवाब दिएका छैनन्, निकै रहस्यमय रहेको ती कार्यकारी निर्देशक दाबी गर्छन । 

नेपालकै लगानीमा संचालित बैंक तथा बित्तीय संस्थाहरुले राष्ट्रबैंकको पूँजीवृद्धिको योजना अनुसार क्रमागत रुपमा आफूलाई अगाडि बढाइरहेका छन् । ‘कतिपयले धमाधम हकप्रद शेयर निश्कासन गरेका छन् भने कतिपयले मर्जर तथा एक्विजिसनको बाटो समातेका छन् ।’ ती अधिकारीले बिजशालासँग भने–‘तर स्ट्याण्डर्ड चार्टर्ड बैंकले पूँजीवृद्धिका लागि क्रमैसँग अगाडि बढ््नुपर्ने नियम उल्लंघन गरेको छ ।’ 

विदेशी लगानीको बैंक भएकै कारण नेपालको कानून वा नीति नमान्नु र अटेर गर्नुले बैंककै छविमा समेत क्षति पुग्ने देखिन्छ । ‘यस वर्षको असार मसान्तभित्र ४ अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने राष्ट्रबैंकको निर्देशनबाट स्ट्याण्डर्डलाई उन्मुक्ति मिलेको हो या राष्ट्रबैंकका गभर्नर र अन्य उच्च कर्मचारी बैंकसँग मिलेर यी सबै कुराहरुलाई नजरअन्दाज गरेका हुन ?’एक लगानीकर्ता भन्छन्–‘८ बर्ष अघि ८५०० रुपैयाँ प्रति कित्ता मूल्यमा यो बैंकको शेयर किन्ने हामीलाई अहिले दलदलमा फसेजस्तो महसुस हुन्छ । अब पनि कसैले विदेशी साझेदार र व्यवस्थापनको बैंक भनेर मात्र यो बैंकमा लगानी गर्न थाल्ने हो भने डूब्नुको अर्को विकल्पै छैन ।’