काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । 

यो बैंकले खूद नाफातर्फ अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६०.५० प्रतिशतको  प्रगति हासिल गरेको हो । 

बैंकले आइतबार प्रकाशन गरेको वित्तीय विवरणका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९१ लाख खूद नाफा आर्जन भएकोमा यो वर्ष सोही अवधिमा वृद्धि भई ४ करोड ६८ लाख रुपैयाँ पुगेको हो । 

गरिमा विकास बैंकले यो अवधिमा निकै ठूलो मात्रामा निक्षेप समेत संकलन गर्न सफल भएको छ । अघिल्लो वर्ष यही अवधिमा ६ अर्ब ५९ करोड निक्षेप संकलन भएकोमा यो वर्ष बढेर १२ अर्ब १ करोड पुगेको छ । 

यस्तै, ५ अर्ब  ९३ करोड कर्जा प्रवाह गरेको यो बैंकले यो वर्ष त्यसलाई बढाएर १० अर्ब  ८२ करोडको उचाईमा  पुर्याएको छ । 

खूद ब्याज आम्दानी समेत उत्साहजन ढंगले बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ९५ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी यो वर्ष बढेर १३ करोड ३३ लाख पुगेको छ । 

गरिमा बैंकको चुक्तापूँजी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५० करोड ६६ लाख रुपैयाँ छ । 

यो बैंकको निस्क्रिय कर्जा दर भने बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ०.३१ प्रतिशतमा सीमित रहेको एनपीएल यो वर्ष बढेर ०.६६ प्रतिशत पुगेको छ । 

यो विकास बैंकको प्रति सेयर आम्दानी १७.३३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.८९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५५ गुणा कायम भएको छ ।