काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वोमी माइक्रोफाइनान्सले खूद नाफातर्फ कमालको प्रगति गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा ७३ लाख १७ हजार खूद नाफा आर्जन गरेको यो माइक्रोफाइनान्सले समीक्षा अवधिमा १ करोड ८ लाख ७० हजार खूद नाफा आर्जन गरेको हो । यो भनेको ४८.५६ प्रतिशतको फड्को हो ।

वोमीको संचालन मुनाफामा समेत ४८.५५ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्ष १ करोड १४ लाख रहेको संचालन मुनाफा बढेर यो वर्ष १ करोड ७० लाखको उचाईमा पुगेको हो । 

कम्पनीले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी समेत ह्वात्तै बढेको छ । अघिल्लो वर्षको यही अवधिमा १ करोड ६३ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २ करोड ७८ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा वोमीले ४६ करोड ५४ लाख निक्षेप संकलन गरी तथा ७० करोड ७३ लाख बढी सापट लिई १ अर्ब ३७ करोड बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ३० कोड बढी निक्षेप संकलन गरी तथा ४७ करोड ६६ लाख बढी सापटी लिई ८३ करोड ८६ लाख बढी कर्जा प्रवाह गरेको थियो । 

वोमीले रिजर्ब कोषलाई पनि निकै मजबुत बनाउँदै लगेको छ । अघिल्लो वर्ष ३ करोड ३२ लाख रहेको कोषमा ६ करोड बढी जम्मा भएको छ । 

कम्पनीले ०.८४ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.५९ प्रतिशतमा झारेको छ भने चुक्तापुँजीको वृद्धि अनुसार नाफा नबढ्दा वार्षिकीकृत प्रतिसेयर आम्दानीमा भने सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४५.१७ रुपैयाँ रहेकोमा घटेर यो वर्ष ४३.०१ रुपैयाँमा सीमित बन्न पुगेको हो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४.११ गुणा कायम भएको छ ।