काठमाण्डौ । कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद मुनाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

खूद मुनाफामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.२९ प्रतिशतको वृद्धि गरी २२ करोड ३९ लाख रुपैयाँको उचाईमा पुर्याएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खूद नाफा १६ करोड ७ लाखमा सीमित थियो । 

यो अवधिमा बैंकले ३२ अर्ब ६७ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २४ अर्ब निक्षेप संकलन गरी २० अर्ब ८ करोड कर्जा प्रवाह गरेको थियो । 

बैंकले व्यवसाय बिस्तारमा समेत राम्रो प्रगति गरेको छ । यही कारण खूद ब्याज आम्दानी पनि बढेको छ । ५१ करोड ६० लाख रुपैयाँ खूद ब्याज आम्दानी भएको छ । अघिल्लो वर्ष यही अवधिमा सेञ्चुरी बैंकको खूद ब्याज आम्दानी ३८ करोड ९५ लाख मात्र थियो । 

बैंकले निस्क्रिय कर्जा पनि घटाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ०.६६ प्रतिशत रहेकोमा यो वर्षको सोही अवधिमा घटाएर ०.४७ प्रतिशतमा झारेको हो । बैकले ८ करोड १५ लाख रुपैयाँ प्रोभिजन राखिएको छ भने ३ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ १४ पैसा, प्रति सेयर नेटवर्थ १ सय २२ रुपैयाँ ६६ पैसा तथा मूल्य आम्दानी अनुपात २७.५१ गुणा कायम भएको छ । 

दोश्रो त्रैमाससम्म यो बैंकको चुक्तापूँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८३ करोड ५९ लाख रुपैयाँ राखेको छ ।